कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा ऐतिहासिक रानीपोखरी र धरहरा पुनःनिर्माणमा कामदारको अभाव भएको छ ।
यसअघि नियमितरुपमा काम गरिरहेका कामदार घर गएकाले अहिले कामदारको अभाव भएको जनाइएको छ ।
लकडाउन जारी हुनुअघि धरहरा पुनःनिर्माणका लागि दैनिक २०० कामदार निरन्तर लागिरहेका थिए भने रानीपोखरीका लागि पनि १०० को हाराहारीमा कामदारले काम गरिरहेका थिए ।

कामदार उपत्यका ल्याउनका लागि समस्या भएकाले सरकारले पासको व्यवस्था गरिदिनुपर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुरोध गरेको छ । धरहरा कमदारको अभाव भए पनि दुई महिनाका लागि निर्माण सामग्री मौज्दात रहेको छ ।
हाल धरहरा निर्माणमा ४३ जनाले काम गरिरहेका छन् भने ३७ प्रतिशत काम सम्पन्न भईसकेको राष्ट्रिय प्राधिकरणका सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।
विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भ¥याङ रहनेछ । लिफ्ट र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ ।
धरहरा निर्माणमा ३ अर्ब ४८ करोड लाग्ने बताइएको छ । धरहरा २२ तलाको र ७२ मिटर अग्लो हुनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् ।
नयाँ धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाको भनाइ छ ।
धरहराको १८औँ तलामा अवलोकन कक्ष हुनाका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टका साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ । जहाँ ३५० वटा गाडी र ६ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।

यसैगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण कार्य पनि शुरु भएको छ । गत आइतबारदेखि शुरु भएको रानीपोखरीमा पनि कामदारको अभाव भएको छ । करिब १०० कामदारले काम गरिरहेका थिए ।
अहिले ३२ जना कामदारले काम गरिरहेका छन् । अहिले पोखरीको ८९ प्रतिशत काम भइरहेको छ भने बालगोपालेश्वर मन्दिरको ५० प्रतिशत काम सकिसकेको छ । गोरखा भूकम्पकै कारण पूर्णरुपमा क्षति भएको ऐतिहासिक सम्पदा रानीपोखरीको पनि यसै सातादेखि पुनःनिर्माण कार्य प्रारम्भ भएको छ । रानीपोखरी पुनःनिर्माणका लागि भने आगामी तीन दिनका लागिमात्र निर्माण सामग्री रहेको छ ।
क्षति पुगेको तीन वर्ष बितिसक्दासम्म काठमाडौँ महानगरपालिकाबाट निर्माणको काम हुन नसके पनि अहिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माणको काम गरिरहेको छ ।
२०७२ माघ २ मा शिलान्यास भएको रानीपोखरीको पुनःनिर्माण शुरुमा काठमाडौंँ महानगरपालिकाले पाएको थियो । तर महानगरले ठेकदारमार्फत काम गराउँदा प्राचीन सम्पदा पुनःनिर्माणमा एक पछि अर्को विवाद भएपछि काम हुन नसकेको हो ।
