सरकारले ६ सातादेखि जारी लकडाउन थप लम्ब्याउने तयारी गरेको छ । आज बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो तयारी गरेको हो ।
समितिको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले लकडाउन लम्ब्याउनेबारे छलफल भएको र लकडाउन निरन्तर जाने प्रतिक्रिया दिनुभयो ।
आजको बैठकले लकडाउनलाई कति दिनसम्म निरन्तरता दिने भन्ने विषयमा प्रष्ट नबताए पनि अहिलेको अवस्थामा लकडाउन प्रभावकारी कदम भएको बैठकले निष्कर्ष निकालेको संकेत गरे ।

बालुवाटारस्थित् प्रधानमन्त्री निवासमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थित थिए । कोरोना भाइरस संक्रमण विस्तार रोक्न सरकारले गएको ११ चैतदेखि लकडाउन लागू गरिएको थियो। पछिल्लोपटक थपिएको लकडाउनको अवधि २५ वैशाखमा सकिँदैछ।
पहिलोपटक १८ चैतसम्म लकडाउन घोषणा गरिएकोमा १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले २५ चैतसम्मका लागि अवधि बढाएको थियो । त्यसपछि, २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले ३ वैशाखसम्मको अवधि थप गरेको थियो भने २ वैशाखमा फेरि बैठक बसेर लकडाउनको अवधि १५ वैशासम्म पुर्याइएको थियो।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या थपिन थालेपछि १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले २५ वैशाखसम्म लकडाउनको अवधि थपेको थियो । आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान भने आउँदो २ जेठसम्म बन्द गर्ने निर्णय यसअघि नै भइसकेको छ । नेपालका लकडाउन लागू गर्दा जम्ममा दुईजना संक्रमित देखिएका थिए भने अहिले संक्रमितको संख्या ८२ पुगेको छ ।
