निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुल्मीमा ड्रोन प्रयोगमा रोक

समाचार

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाभर ड्रोन प्रयोगमा अस्थायी रोक लगाएको छ।

कार्यालयले एक जरुरी सूचना जारी गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, व्यवस्थित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय बाहेक अन्य कुनै निकाय, संघ–संस्था वा व्यक्तिबाट सञ्चालन हुने ड्रोन प्रयोगमा प्रतिबन्ध लगाइएको जनाएको हो ।

सूचनाअनुसार उक्त प्रतिबन्ध फागुन १८ गतेदेखि लागू भई मतगणना सम्पन्न नहुँदासम्म कायम रहनेछ । निर्वाचन अवधिमा अनधिकृत ड्रोन उडानले सुरक्षा चुनौती सिर्जना गर्न सक्ने भएकाले यस्तो निर्णय गरिएको प्रशासनको भनाइ छ ।

बद्रीनाथ गैह्रे, प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा प्रतिबन्धको उल्लंघन गरी कसैले ड्रोन प्रयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारवाही गरिने चेतावनी दिइएको छ ।

जिल्ला प्रशासनले सबै संघ–संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणलाई सूचनाको पालना गर्न अनुरोध गर्दै निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन सहयोग गर्न आग्रह गरेको छ ।