सरकारले संघीय संसदको बजेट अधिवेशन यही वैशाख २६ गते बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
यसअघि शनिबार बसेको सचिवालय बैठकले पनि छिटै संसद अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो । संविधानमा जेठ १५ गते बजेट अनिवार्य रुपमा ल्याउनु पर्ने व्यवस्था भएकाले अब बजेट अधिवेशन सुरु गनुपर्ने वाध्यतामा सरकार छ । संविधानको धारा ११९ मा संघीय सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ महिनाको १५ गते बजेट संघीय संसदमा पेश गर्नुपर्ने प्रावधान छ ।
अर्थ र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आगामी आर्थिक वर्ष २०७७ र ७८ को नीति तथा कार्यक्रमको तयारी करीब अन्तिम चरणमा पुगेको बताएका छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुवै सदनको बैठक सञ्चालन गर्ने तयारी पुरा भएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

‘हामीले सामाजिक दुरी कायम हुने गरि संसद सञ्चालनको सवै व्यवस्था मिलाएका छौ ’ पाण्डेले भने ‘प्रधानमन्त्रीले पनि अनुमगन गरिसकेकाले सम्भवत यही महिनाको अन्तिम साता अधिवेशन सुरु होला ।’ अधिवेशन सुरु गर्ने र अन्त्य गर्ने अधिकार सरकारको भएकाले संसद सचिवालय पनि पर्खेर बसेको उनले बताए । गत बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच पनि संसदको वर्षे अधिवेशन बोलाउनेबारे छलफल भएको थियो । भेटमा सभामुख सापकोटाले जतिसक्दो छिटो अधिवेशन बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
सामाजिक दुरी कायम गरेर संसद बैठक चलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो राखेका थिए । सभामुख सापकोटाले त्यसको सबै तयारी सचिवालयले गरिससकेको बताएका थिए । सभामुखको उक्त भनाइपछि प्रधानमन्त्री ओली संसद भवन नयाँबानेश्वर पुगेर बैठक कक्षको अवलोकन गरेका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ । यसअघि सरकारले संसद सचिवलायलाई वैशाख २१ गतेसम्म संसद भवनमा गर्नुपर्ने तयारी सक्न आग्रह गरेको थियो ।
सोही निर्देशनपछि बजेट अधिवेशनमा सामाजिक दूरी कायम गरेर बैठक राख्न संसद सचिवालयले तयारी तीव्र पारेको थियो । सचिवालयका अनुसार एउटा पंक्तिमा प्रधानमन्त्रीमात्रै बस्नेछन् । प्रधानमन्त्री बस्ने कुर्सीभन्दा पछाडिको पंक्ति खाली राखिने छ । सभामुख रहने ड्यासमा सामाजिक दुरी कायम हुने गरी स्पेस बढाइएको छ । सांसदहरुलाई बीचमा एउटा कुर्सी छाडेर फराकिलो दुरीमा राखिएको छ ।
नीति तथा कार्यक्रम जेठको सुरुमै
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । बजेट पेश हुनुभन्दा १५ दिन अगाडि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीको नियम १४२ मा छ ।
बजेट पेश गर्नुअघि पूर्वबजेट छलफल पनि संसदमा चलाउनु पर्ने हुन्छ। प्रि(बजेट छलफलमा सांसदहरुले दिएका सुझावलाई समेटेर सरकारले नीति तथा कार्यक्रम ल्याउने गरिन्छ।
अधिवेशनको पहिलो दिन अधिवेशन आहृवानसम्बन्धी राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाई पहिलो दिनको बैठक अन्त्य गर्ने अभ्यास छ । यसरी हेर्दा, सरकारलाई अधिवेशन छिटो बोलाउने दबाब देखिन्छ । अधिवेशन सुरु हुनुभन्दा कम्तीमा एक हप्ता अगाडि बैठक आहृवान गर्ने अभ्यास हुँदै आएको छ ।
जिल्लामा रहेका सांसदलाई राजधानी फर्किने समय र सचिवालयले गर्नुपर्ने तयारीका लागि कम्तीमा एक हप्ता समय राखेर अधिवेशन आहृवान गर्नुपर्ने संसद सचिवालयको तर्क छ ।
भर्चुअल बैठकका लागि तयारी
मिनि संसद अर्थात् संसदीय समितिहरु भर्चुअल रुपमा सञ्चालन गर्नका लागि पनि सचिवालयले तयारी गरिरहेको छ । कार्यवाहक महासचिव गोपालनाथ योगीका अनुसार भर्चुअल बैठकका लागि संसद सचिवालयले सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएको छ । यसअघि संसदले सचिव ध्रुव घिमिरेको संयोजकत्वमा भर्चुअल बैठकबारे अध्ययन गरेको थियो ।
उक्त समितिको सिफारिसअनुसार आवश्यक कार्य अघि बढेको सचिवालयले जनाएको छ। संसद सचिवालयले भर्चुअल बैठक गर्नका लागि सफ्टवेयरदेखि अन्य व्यवस्थापन, खर्च आदिका विषयमा अध्ययन गर्न सचिवालयका अनुसन्धान सचिव घिमिरेको नेतृत्वमा समिति गठन गरेको थियो ।
पहिलो चरणमा १० लाख खर्च हुने अनुमान सचिवालयले गरेको छ । लाइसेन्स लिन २ लाख र अन्य व्यवस्थापनका लागि बाँकी रकम खर्च हुने सचिवालयको आँकलन छ । दोस्रो चरणमा एचडी टेलिभिजन, भर्चुअल बैठकमै गोप्य छलफलजस्ता प्रविधि विकास गर्नका लागि ४२ लाख रुपैयाँसम्म खर्च हुने अध्ययन समितिको प्रारम्भिक अनुमान छ ।
अध्ययन समितिले सचिवालयमा बुझाएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख भएअनुसार माइक्रोसफ्ट टिम्स नामक सफट्वेयरबाट ३०० भन्दा बढीले एकै पटक कुराकानी गर्न मिल्ने छ । यसमा रेकर्डिङ र सर्चिङ सुविधा पनि हुने छ । छलफल हुँदै गर्दा दुई वा बढी सदस्यले आपसमा गोप्य कुराकानी गर्नसमेत सक्नेछन् ।
गोप्य भोटिङ गर्न सकिने, फाइल सेयर तथा स्टोर गर्न सकिने, मोवाइल, डेस्कटप, ल्यापटपमा वेबबाटै सिधै कन्फरेन्समा भाग लिन सकिने सुविधा यो सफ्टवेयरमा भएको फ्रेन्सिङ गर्न सकिने लगायत सुविधा यो सफ्टवयेरमा रहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
