आज महाशिवरात्रि – सिल्लाचःह्रे

संकृति - सम्पदा

महाशिवरात्रि पर्व फागुन कृष्ण चतुर्दशीको रातलाई आशुतोष भगवान शिवको उत्पत्ति भएको रात्रिका रुपमा पौराणिक ग्रन्थहरुमा वर्णन गरिएको छ । वर्षदिनमा आउने रात्रिहरु मध्य कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

प्रत्येक महिनामा पर्ने कृष्णचतुर्दशी सबै नै शिवरात्रि हुन् तर फाल्गुन महिनामा पर्ने कृष्ण चतुर्दशीको विशेष महत्त्व भएकोले यस दिनलाई ‘महा’ विशेषण जोडेर महाशिवरात्रि नामले पुकारिन्छ । क्षयपूर्ण तिथि (अमावास्य) को दुष्प्रभावबाट बच्नको लागि त्यसको एक दिन अगाडिको चतुर्दशीको दिन भगवान् शिवको उपासना गरिएजस्तै वर्षको अन्तिम महिना आउनुभन्दा अगाडि नै महाशिवरात्रिको रूपमा पूजा-अर्चना गर्ने विधान शास्त्रमा पाइन्छ।

महाशिवरात्रिलाई भोग र मोक्ष दिने पुण्यदायक पर्वको रूपमा लिइएको पाइन्छ। शिवपुराणमा भगवान् विष्णुले एक पटक भगवान् शिवलाई कुन व्रतबाट भक्तजनहरूलाई भोग र मोक्ष एकसाथ प्रदान गर्नु सकिन्छ भनी सोध्दा भगवान् शिवले दशवटा व्रतहरूको नाम लिनुभएकोमा महाशिवरात्रिलाई अत्यधिक महत्त्व दिँदै भोग र मोक्ष चाहनेले शिवरात्रिको व्रत बस्नु योग्य छ भनी बताएको मानिन्छ ।

नेपालमा राष्ट्रिय सांस्कृतिक पर्वका रुपमा मानिदै आएको यस दिन पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । रात्रिको प्रथम प्रहरमा दूधद्वारा ईशान मुहारको, द्वितीय प्रहरमा दहीद्वारा अघोर मूर्तिको, तेस्रो प्रहरमा घ्यूद्वारा वामदेव मुहारको तथा चौथो प्रहरमा सद्योजात मुहारको स्नान गरिने प्रचलन छ। कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न यस दिन देशभरका विभिन्न भाग लगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस पनि मनाइन्छ ।

महाशिवरात्रिलाई नेवाः समाजले “सिल्लाचःह्रे”पर्वका रुपमा मनाउँदै आएको छ । नेपाल संवत अनुसारको सिला महिनाको चःह्रे( सिल्लाचःह्रे) अर्थात बिक्रम सम्वत अनुसारको फागुण कृष्ण चतुर्दशीको दिनलाई नेवाः समुदायले सिलाचाः च्वनेगु पनि भन्ने गर्छन्। शिव उत्पत्ति भएको पवित्ररातमा धुनीसमेत जगाई सिलाचाः याने जाग्राम बसेर महादेवको उपासना समेत गर्न यस दिन बिहानदेखि नै युवाहरु चोक चोकमा बसी बाटोमा आवतजावत गर्ने सबै बटुवाहरुलाई बाटो छेकेर जगाः याने सिल्लाचःह्रेको कर लिने गर्छन् ।