काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत रहेका छन्।
उनका स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछानेको देब्रे खुट्टामा लागेको चोटमा संक्रमण देखिएको छ। संक्रमण छालाको भित्री तहसम्म फैलिएकोले चिकित्सकको सल्लाहअनुसार उनलाई निगरानीमा राखेर उपचार गर्नुपर्ने भएको हो।
लामिछाने अस्पतालमा उपचाररत रहेको जानकारी आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन्। उपचारपछि घर फर्किएलगत्तै सभापति लामिछाने पुनः राजनीतिक तथा सांगठानिक गतिविधिमा सक्रिय हुने पनि उनले बताएका छन्।

हाल उपचार प्रक्रियामा असर नपरोस् र अस्पताल प्रशासनलाई असहज नहोस् भन्ने हेतुले भेटघाटका लागि अस्पताल नआइदिन सबैमा आग्रह गरिएको छ।
