एसियन हाइवे निर्माण ३५% सम्पन्न, झापाबाट पहिलो चरणको कालोपत्र सुरु

पूर्वाधार तथा विकास निर्माण

झापा । एशियाली राष्ट्रहरूलाई सडक सञ्जालमार्फत जोड्ने उद्देश्यसहित अघि बढाइएको ‘एसियन हाइवे’ आयोजनाको निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ। काँकडभिट्टाबाट लौकहीसम्मको सडक खण्डमा सुरु भएको निर्माणको दुई वर्षमा करिब ३५ प्रतिशत काम सम्पन्न भएको छ।

आयोजनाअन्तर्गत आइतबारदेखि झापाको पाडाजुगीबाट पश्चिमतर्फ पहिलो चरणको एकलेन कालोपत्र सुरु गरिएको पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिए। निर्माण सम्झौता भएको दुई वर्षको अवधिमा उल्लेख्य प्रगति हासिल भएको उनले बताए।

प्रजापतिका अनुसार, एसियन राजमार्ग नम्बर–२ अन्तर्गत काँकडभिट्टादेखि लौकहीसम्म १२० किलोमिटर सडक स्तरोन्नति गर्ने योजना भए पनि हाल ९५.७६ किलोमिटर सडकमा मात्र ठेक्का लागेर काम भइरहेको छ। आयोजनालाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर निर्माण भइरहेको छ।

हालसम्म दुवै खण्डमा गरी करिब २० किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्र सकिएको छ। पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनीलबाबु पन्तका अनुसार पूर्वी खण्डमा पनि करिब ३५ प्रतिशत काम सम्पन्न भइसकेको छ।

निर्माण सामग्रीको सहज उपलब्धता भए काम अझ तीव्र गतिमा अघि बढ्ने पन्तले बताए। उनका अनुसार, पूर्वी खण्डमा बिजुलीका खम्बा सार्ने काम ८० प्रतिशत सम्पन्न भएको छ भने पश्चिम खण्डमा भने यो प्रगति करिब ४० प्रतिशत मात्र पुगेको छ। बजार क्षेत्रका खम्बा सार्ने काम अझै बाँकी छ।

ठूला पुल निर्माणतर्फ पूर्वी खण्डमा २३ प्रतिशत र पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ।

यो एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टा प्रवेश गर्नेछ। त्यसपछि पूर्व–पश्चिम राजमार्ग हुँदै भारतको दिल्ली पार गर्दै पाकिस्तानको कराँचीसम्म पुग्ने अन्तर्राष्ट्रिय सडक सञ्जालको हिस्सा हो।

एसियाली विकास बैंक (ADB) को आर्थिक सहयोगमा विसं २०८० माघ १९ गते देखि निर्माण सुरु गरिएको यस आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। आयोजनाको कुल लागत करिब ३० करोड अमेरिकी डलर अनुमान गरिएको छ।

सडकलाई क्षेत्रअनुसार तीन वर्गमा निर्माण गरिँदैछ:

  • बजार क्षेत्र: ५० मिटर चौडाइ

  • जङ्गल क्षेत्र: २४ मिटर चौडाइ

  • ग्रामीण क्षेत्र: ३३ मिटर चौडाइ