कोरोना आशंकामा जिल्ला अस्पताल अछामको आईसोलेसनमा भर्ना भएकी ५१ वर्षीय महिलाको मृत्यु भएको छ ।
अछामका कोभिड( १९ सम्पर्क व्यक्ति देवदत्त जोशीका अनुसार उच्च ज्वरो आएपछि उनलाई तीन दिन अघि मात्र अस्पतालमा भर्ना गरिएको थियो । बिहिबार बिहान उनको मृत्यु भएको हो । उच्च ज्वरो आएका कारण कोरोनाको आशंका गर्दै उनको र्यापिड डायग्नोष्टिक विधि मार्फत कोरोना परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । उनको मृत्यु कोरोनाको कारणले हो वा हैन भन्ने एकिन गर्न मृत्यु पश्चात थ्रोट स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ ।
उनको नमुना संकलन गरी सुर्खेत पठाइएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए । प्रमुख ढुंगानाका अनुसार बैशाख १६ गते ज्वरो आएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । पीसीआरको रिपोर्ट आएपछि मात्रै उनमा कोरोना हो वा होइन भन्ने थाहा हुने उनले जानकारी दिए ।

