काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण निकालेको हो । बैंकले ६ महिनामा १ अर्ब १ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको हो । बैंकले गत वर्षको सोही अवधिको ८० करोड ७३ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । उक्त अवधिकाभन्दा बैंकले नाफा २५.२५ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी गत आवको माघ मसान्तको २ अर्ब ८२ करोड ३७ लाख रुपैयाँबाट बढेर २ अर्ब ९४ करोड १० लाख रुपैयाँ कायम भएको छ । यसैगरी खुद फि एन्ड कमिसन आम्दानी ६७ करोड २१ लाखबाट बढेर ८२ करोड ८ लाख पुगेको छ ।
बैंकले यो अवधिमा सम्भावित नोक्सानीका लागि ५७ करोड ४३ लाख रुपैयाँ प्रोभिजन गरेको छ । जुन गत आवको २० करोड ४७ लाख रुपैयाँ गरेको थियो । यसो हुँदा बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब ४५ करोड २७ लाख रुपैयाँ छ जुन गत आवको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँ कम हो ।

६ महिनाको अवधिमा बैंकले कुल कर्जा १३ अर्ब रुपैयाँले बढाएर १ खर्ब ५४ अर्ब ९५ लाख रुपैयाँ पुर्याएको छ । निक्षेप पनि २८ अर्बले विस्तार गरेर २ खर्ब ४ अर्ब ४ करोड ७२ लाख रुपैयाँ बनाएको छ ।
यसो त कुल कर्जामध्ये निष्क्रिय कर्जाको हिस्सा ४.५४ बाट ४.२५ प्रतिशतमा आएको छ । यसैगरी खुद निष्क्रिय कर्जाको अनुपात १.४१ प्रतिशतमात्र छ ।
