काठमाडौँ ।चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ६ महिनामा (साउन–पुस) नेपालको वैदेशिक व्यापार उल्लेख्य रुपमा बढेको छ। अघिल्लो आर्थिक वर्ष २०८१-८२ को सोही अवधिको तुलनामा आयात, निर्यात र कुल वैदेशिक व्यापार सबै सूचकमा वृद्धि देखिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ६ महिनाको अवधिमा आयात १४.१८ प्रतिशतले बढेर ९ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो ६ महिनामा आयात ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो।
यस अवधिमा निर्याततर्फ अझ तीव्र वृद्धि देखिएको छ । निर्यात ४३.७६ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब १ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा निर्यात ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ मात्र थियो।

यद्यपि निर्यात बढे पनि व्यापार घाटा अझै ठूलो छ । ६ महिनामा व्यापार घाटा ७ खर्ब ९७ अर्ब ४८ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा १०.१५ प्रतिशतले बढी हो।
कुल वैदेशिक व्यापार (आयात र निर्यातको योग) १७.३६ प्रतिशतले वृद्धि भई १० खर्ब ८१ अर्ब ४ करोड पुगेको छ। अघिल्लो वर्ष यो ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ थियो।
यस अवधिमा आयात–निर्यात अनुपात भने घटेको छ। अघिल्लो वर्ष ८.३२ रहेको आयात–निर्यात अनुपात चालु वर्षमा घटेर ६.६१ मा झरेको छ, जसले निर्यातको हिस्सा केही बलियो बन्दै गएको संकेत गर्दछ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.७२ प्रतिशतबाट बढेर १३.१४ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८९.२८ प्रतिशतबाट घटेर ८६.८६ प्रतिशतमा सीमित भएको छ।
