२०७७ बैशाख १८, भारतको उत्तराखण्डको पिथौरागढका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेकाहरु आज नेपाल आउन पाउने भएका छन् । पिथौरागढको धार्चुला, झुलाघाट क्षेत्रका विभिन्न क्वारेन्टाइनमा बसेका करिब १८ सय नेपालीलाई गृह मन्त्रालयको निर्देशनमा भारतीय पक्षसँग समन्वय गरी स्वदेश ल्याउन लागिएको हो । उनीहरुलाई नेपाल आइसकेपछि पनि थप १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने शर्तमा नेपाल प्रवेश दिन लागिएको हो ।
सुदूरपश्चिमका बासिन्दा धेरै रोजगारीका लागि भारत जाने गर्छन । कोरोना महामारीका कारण भारतमा लकडाउन शुरु भएपछि उनीहरु घर फर्कनका लागि आउँदै गर्दा नेपाल भारत सिमामा रोकिएका थिए ।
लगभग एक महिना भारतको क्वारेन्टाइनमा बिताएका उनीहरुले आज भने नेपाल प्रवेश गर्न पाउने भएका हुन् । घर फर्किन खोज्दा लकडाउनका कारण नेपाल सरकारले सीमा खोल्न नमानेपछि उनीहरुलाई भारतीय पक्षले क्वारेन्टाइनमा राखेको थियो । यसरी क्वारेन्टाइनबाट फर्किनेमा स साना बालबालिका र महिला पनि रहेका छन् ।

