बैशाख १७, २०७७ धनकुटा : लकडाउनको समय बढेसँगै धनकुटाका घरधनीहरुले भाडा बस्दै आएकाहरुलाई भाडा मिनाहा गर्ने निर्णय गरेका छन्। सरकारले लकडाउनको अवधि बढाउँदा उद्योगी, व्यवसायीहरुको व्यवसाय धराशायी बन्दै गएपछि राहतस्वरुप धनकुटा र हिलेबजारका घरधनीहरुले स्वःस्फूर्त रुपमा घरभाडा मिनाहाको घोषणा गर्न थालेका हुन्। लकडाउनको प्रत्यक्ष मारमा उद्योगी, व्यवासायी परेकोले केही हदसम्म भए पनि उनीहरुलाई राहत पु¥याउने उद्देश्यले धनकुटा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राई सहित एक दर्जन घरधनीहरुले लकडाउन अवधिभरको भाडा पूर्ण रुपमा छुट दिने बताएका छन्। धनकुटा नगरपालिका ५ धरहरा चोकको घरहरुमा व्यापारीहरुले सञ्चालन गरेका किराना र खाजाघरको भाडा मिनाहा गरिदिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष राईले बताए।
