काठमाडौं । नेपाल बैंकको ६६ औँ वार्षिक साधारण सभा मिति २०८२ पौष ३० गते बुधबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सम्पन्न भएको छ । साधारण सभा सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वित्तीय विवरणहरू पारित गरेको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त तथा सुविधासम्बन्धी प्रस्ताव पनि सभाबाट पारित भएको छ । श्री महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भएपछि लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको छ ।

सभाले नेपाल बैंकको नियमावलीको नियम ३१ अनुसार सञ्चालकको पारिश्रमिक, भत्ता तथा सुविधा सम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै, उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरिएको छ ।
