सात जिल्लामा दादुरा ‘आउटब्रेक’

विविध

काठमाडौँ, १७ बैशाख । सरकारका अधिकांश संयन्त्र कोरोना भाइरस ( कोभिड – १९) को संक्रमणलाई नियन्त्रण गर्ने अभियानमा जुटेका बेला देशका विभिन्न स्थानमा दादुराको ‘आउटब्रेक’ भएको छ ।

गत माघ यता तीनवटा प्रदेशको सात जिल्लामा दादुराको आउटब्रेक देखिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाल अहिलेसम्म झापा, सर्लाही, चितवन, काठमाडौँ, ललितपुर, धादिङ र गोर्खामा गरी १८५ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये दुई जनाको ज्यान गएको छ ।

परिवार कल्याण महाशाखा अन्तरगर्त खोप शाखा प्रमुख डा. झलक गौतमले ६ महिना देखि ४० बर्षसम्मकोमा दादुरा देखिएको बताए । उनले झापाको दमकमा यसअघि २१ जनामा, सर्लाहीमा ६ जना, ललितपुरको खोकनामा १८ जना, धादिङको वेनिघाट र गजुरीमा गरी ११३ जना, काठमाडौँको पेप्सीकोलामा १४ जना, चितवनको राप्ती नगरपालिकामा ८ जना र गोरखाको गण्डकी गाँउपालिकामा ५ जनामा दादुरा देखिएको बताए । यी मध्ये धादिङमा दुई बालबालिकाको ज्यान गएको हो । यो भाइरसको प्रकोप देखिन थालेको तीन महिना भयो । ‘एक ठाँउमा देखिएर नियन्त्रणमा नआउँदै अर्को ठाँउमा यसको प्रकोप देखिएको छ ।

बेनिघाट र गजुरीमा तीनमहिनाको बीचमा तीन पटक आउटब्रेक भएपछि स्वास्थ्य सेवा विभागले विशेष खोप अभियान आउटब्रेक रेस्पोन्स इमुनाइजेसन शुरु गरेको छ । सो अभियान अन्तरगर्त बेनिघाट र गजुरी गाँउपालिकाका ६ महिना देखि १५ बर्ष उमेर समूहका २० हजार बालबालिकाहरुलाई मिजल्स र रुवेलाविरुद्धको खोप दिइन थालिएको छ ।

सरकारको सारा संयन्त्र अहिले कोरोना नियन्त्रणमा केन्द्रीत छ । यसले धेरै जिल्लामा नियमित खोप समेत रोकिएको अवस्था छ । यसले आगामी बर्षहरुमा यस्ता खालका महामारीहरु थप बढ्ने अनुमान गरिएको छ ।