काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौंको चावहिलस्थित मेडिकेयर हस्पिटल लिमिटेडबीच उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
२०८२ साल पौष १८ गते सम्पन्न उक्त सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य, बैंकमा पेन्सन खाता रहेका ग्राहक, बैंकका क्रेडिट कार्ड होल्डर तथा नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरूले मेडिकेयर हस्पिटलमा उपचार गराउँदा लाग्ने शुल्कमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।
सम्झौताअनुसार अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य उपचार सेवामा लाग्ने कुल बिल रकममा सो छुट लागू हुने व्यवस्था गरिएको छ।

सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लिमिटेडको तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गर्नुभएको छ।
यस सम्झौताबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकसँग आबद्ध ग्राहकहरू मेडिकेयर हस्पिटलले प्रदान गर्ने सहुलियतपूर्ण तथा गुणस्तरीय स्वास्थ्य सेवाबाट लाभान्वित हुने विश्वास बैंकले व्यक्त गरेको छ।
