काठमाडौँ महानगरपालिका वडा नं. २ को अत्याधुनिक प्रशासनिक भवन उद्घाटन

पूर्वाधार तथा विकास निर्माण

काठमाडौँ महानगरपालिका वडा नम्बर २ ले आफ्नो नवनिर्मित अत्याधुनिक प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ। लाजिमपाटस्थित नर्सरी मार्गमा निर्माण गरिएको उक्त भवनको बुधबार एक विशेष कार्यक्रमका बीच वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले उद्घाटन गर्नुभयो।

यस भवनको शिलान्यास विक्रम संवत् २०७७ सालमा तत्कालीन नगर प्रमुख विद्यासुन्दर शाक्यले गर्नुभएको थियो। करिब पाँच वर्षको निर्माण अवधिपश्चात भवन सम्पन्न भई सेवा सञ्चालनमा आएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै पूर्व नगर प्रमुख विद्यासुन्दर शाक्यले भौतिक पूर्वाधारसँगै सेवाको गुणस्तरमा पनि सुधार आउनुपर्नेमा जोड दिनुभयो। “पहिले पुरानो भवनका कारण फाइलहरू सुरक्षित राख्न र सेवा दिन कठिन थियो, अब नयाँ भवनसँगै वडावासीले पाउने सेवा पनि प्रभावकारी र गुणस्तरीय हुनुपर्छ,” उहाँले भन्नुभयो।

 वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले वडावासीलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले ‘स्वास्थ्य प्रवर्धन केन्द्र’ सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उक्त केन्द्रबाट निःशुल्क डाक्टर परामर्श, औषधि, र फिजियोथेरापी जस्ता सेवाहरू उपलब्ध हुनेछन्।  साथै, आगामी एक देखि डेढ वर्षभित्र वडावासीले घरबाटै कर तिर्न सक्ने गरी प्रविधिको विकास भइरहेको उहाँले बताउनुभयो।

कार्यक्रममा स्थानीय डा. अस्वस्थामा भक्त खरेलले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकहरूका लागि घरदैलो स्वास्थ्य सेवा र बिमा कार्यक्रमलाई थप झन्झटमुक्त र प्रभावकारी बनाउन सुझाव दिनुभयो।

भवन समुद्घाटनको अवसरमा वडाद्वारा आयोजित टेबल टेनिस प्रतियोगिताका विजेताहरूले प्राप्त गरेको ट्रफी वडा कार्यालयलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, कर्मचारी, जनप्रतिनिधि र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

काठमाडौँ महानगरपालिकाले आफ्ना सबै वडा कार्यालयहरूलाई आफ्नै भवनबाट सेवा दिने लक्ष्य राखेअनुरूप वडा नं. २ को यो नयाँ भवन निर्माण गरिएको हो।