काठमाडौँ, वैशाख १६ गते । गृह मन्त्रालयले कोरोना भाइरस (Covid-19) महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनमा सवारी अनुमतिपत्र बाहेक अन्य सवारीसाधनको सञ्चालनमा कडाइ गर्न निर्देशन दिएको छ । मन्त्रालयको शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सोमबार पत्राचार गरी सवारी पास नभएका कुनै पनि सवारी सञ्चालनमा पूर्ण रूपमा रोक लगाउन निर्देशन दिएको छ ।
नेपाल सरकारका बहालवाला तथा पूर्वमन्त्री, सांसद तथा स्थानीय तहले बन्दाबन्दीका कारण काठमाडौँ उपत्यकामा रहेका आफ्ना कार्यकर्ता तथा सर्वसाधारणलाई सार्वजनिक यातायातका साधनहरू रिजर्भ गरी गृह जिल्ला फर्काउने लहड नै चलेपछि यस्तो कडाइ गर्नुपरेको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विगत केही दिनयता सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी पासबिना नै यात्रुवाहक सवारीसाधनहरूको निर्वाध आवागमन भइरहेको जानकारी आएपछि थप कडाइ गरिएको छ ।
नेपाल प्रहरीका अनुसार वैशाख ३ देखि १५ गतेसम्म चौथोपटक थप गरिएको बन्दाबन्दी अवधिमा बिनापासका सवारीसाधनहरू बाक्लो रूपमा सञ्चालनमा आए । सोही अवधिमा प्रदेश सरकार तथा स्थानीय तहसँगको समन्वयमा काठमाडौँ उपत्यकाबाट करिब १० हजारभन्दा बढी नागरिक गृह जिल्ला फर्किएका छन् । अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधनहरूका लागि सवारी पास जारी नगर्नसमेत निर्देशन दिइएको छ । पासको समेत दुरुपयोग हुन थालेपछि मन्त्रालय सो निर्णय गर्न बाध्य भएको हो । सवारी पास लिन चाहने नागरिकका लागि अनलाइन आवेदन अनिवार्य
गरिएको छ । सङ्क्रमण रोगसम्बन्धी ऐन, २०२० ले गरेको व्यवस्था अनुसार अत्यावश्यक सेवाका सवारीसाधन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासवाहक बाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, तरकारी तथा फलफूल, ग्यास, खानेपानी, खाद्य सामग्री ढुवानीमा संलग्न सवारीसाधनलाई पास नभए पनि आवागमनमा कुनै रोक लगाइएको छैन ।
