रिलायन्स स्पिनिङ आईपीओ विवाद: सेबोनद्वारा छानबिन समिति गठन

कर्पोरेट

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासनसम्बन्धी विवादको छानबिन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले समिति गठन गरेको छ ।बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ निष्कासन गर्दा भएका कामकारबाहीको निष्पक्ष छानबिनका लागि उक्त समिति बनाइएको हो ।

अर्थ मन्त्रालयले पुस १ गते सेबोनलाई पत्र पठाउँदै रिलायन्स स्पिनिङको बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासनबारे छानबिन गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार सेबोनले समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न समयसीमा तोकेको छ ।

यसैक्रममा सेबोनले बिहीबार बोर्ड सदस्य विनोदकुमार भट्टराई र पीताम्बर भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

यसअघि प्राधिकरणलाई तिर्नुपर्ने ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँ दायित्वको हिसाब नगरी सेबोनले रिलायन्स स्पिनिङलाई सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति दिएको भन्दै विवाद उत्पन्न भएको थियो ।

सो विषयमा तत्कालीन प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २०८१ असारको अन्तिम साता आईपीओ प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो ।