घरभाडा छुट कार्यान्वयनमा आएन

विविध

काठमाडौँ   –  गत चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले घरभाडा नलिन अनुरोध गर्ने निर्णय गरेको थियो । बैठकले घरभाडा मिनाहा गर्ने घरभेटीको घर बहाल करसमेत छुटको घोषणा गरेको थियो । कोभिड–१९ का कारण प्रभावितलाई राहत दिन सरकारले सो निर्णय गरे पनि यो कार्यान्वयन भने थोरै मात्रै भएको छ । कतिपय घरबेटीले सामाजिक सञ्जालमार्फत नै आफूले भाडा नलिने उद्घोष गरिरहे पनि अधिकांश घरमा भने बहालमा बस्नेले भाडा तिरिसकेका छन् । कतिपयले अग्रिम भाडा तिर्ने गरेकाले वैशाख महिनाको समेत भाडा तिरिसकेका छन् ।

अच्चमको कुरा त सरकारी उच्च तहका कर्मचारी नै धमाधम भाडा असुल्न लागेका छन् ।‘लकडाउन’ का समयमा नियमित काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीसमेत आफूले भाडा तिरेर पनि बस्न कठिन भएको बताउँछन् । कोभिड–१९ को सङ्क्रमण फैलिने भन्दै घरबेटीले नराम्रो व्यवहार गरेको धेरैले बताएका छन् ।

अहिले झण्डै १० प्रतिशत घरबेटीले मात्रै आफ्ना घरमा बस्नेलाई छुट दिएको पाइएको छ । उहाँका अनुसार धेरै घरभेटीले आफ्नो आम्दानीको अरु स्रोत नभएको वा आफूलाई पनि गाह्रो पर्ने भन्दै छुट दिन मानेका छैनन् ।

सरकारले कम्तीमा ‘लकडाउन’ का कारण रोजगारी गुमाएका व्यक्तिलाई छुट दिन निर्देशन दिनुपर्ने हो ।

सरकारले अहिले भाडा छुटका लागि अनुरोध मात्रै गरेकाले पनि कार्यान्वयन हुन नसकेको हो । सरकारले निर्देशिका नै बनाएर निर्देशन दिएर कार्यान्वयन गर्नुपर्ने हो । सबै बहालमा बस्ने व्यक्तिलाई छुट आवश्यक नपर्न सक्ने, वार्षिक यतिसम्म आम्दानी भएकालाई छुट दिइने भनी निर्णय गरेर सोहीअनुसार कार्यान्वयन गर्नुपर्ने हो । कतिपय उच्च ओहोदामा बस्ने र नियमित तलब आउनेलाई समस्या नपरे पनि भाडा छुट नहुँदा उपत्यकामा धेरैलाई समस्या परेको छ ।

अहिलेसम्म घरभेटी र बहालमा बस्ने दुईबीचको समझदारीमा नै भाडा लिने÷नलिने निर्णय भइरहेको पाइएको छ । यसबारेमा स्थानीय निकायबाट पनि कुनै निर्णय भएको छैन,  कसैलाई पनि भाडा लिनुहोस् वा नलिनुहोस् भनेको छैन ।

कतिपय घरभेटी आर्थिक अवस्था न्यून भएकाले उनीहरुले भाडा मिनाहा गर्न सक्ने अवस्था छैन । बहालमा बस्ने व्यक्तिसँगै घरबेटीलाई पनि मर्का पर्छ कि भनी सरकारले अनुगमन गर्न जरुरि छ । । घरभेटीले घरभाडा नलिँदा सरकारले तिनलाई के गर्ने भनी सोच्न जरुरी छ ।

घरभेटी र बहालमा बस्ने दुवै मर्कामा पर्नु हुँदैन ।

अहिले कसैले  भाडा पूरै मिनाहा गरेको, कतिले केही छुट गरेको त कतिले नगरेको भन्ने जानकारी आइरहेको छ । कतिपय घरभेटीले बहालमा बस्नेलाई खाद्यान्न राहतसमेत दिइरहेको जानकारी आएको छ । कतिपयले ऋण गरेर घर बनाएको र घरभाडाबाटै किस्ता तिर्ने हुँदा उसले भाडा पूरै मिनाहा गर्न नसकेको हुनसक्छ । आर्थिकरुपमा विपन्नले भाडा नतिरे पनि अरुले दिइरहेको जानकारी आएको छ ।

कतिपय घरभेटीको अरु आर्थिक स्रोत नभएकाले घर भाडाबाटै खाने गरेको तथा कतिपय घरभेटीले ऋण गरेर घर बनाएकाले भाडाबाट किस्ता तिर्नुपर्ने बाध्यता छ । जम्मा तीन कोठाको घरमा दुई कोठा प्रयोग गरेर घरभेटीले एक कोठा मात्रै भाडामा लगाएका पनि छन् , त्यस्तै  दुईतीन हजारबाट रासन खाने घरभेटी धेरै छन्, तिनका बारेमा पनि सरकारले सोच्नुपर्छ ।

समग्रमा भन्दा सरकारले छूट घोषणा मात्र गरेर हुन्दैन , यसबाट पर्ने प्रभाव र वास्तविक मर्कामा परेकाहरु चाहे घरबेटी हुन् वा भाडावाल , पहिचान गरेर त्यसै अनुसार छुट गर्ने वा राहत दिने कार्य गर्नुपर्छ ।