सगरमाथा पदमार्गमा मारियो कस्तुरी मृग

विविध

सगरमाथा राष्ट्रिय निकुञ्जको सगरमाथा पदमार्गमा पर्ने  घ्यावा लो भन्ने ठाउँमा ६ वटा कस्तुरी मारेको भेटिएको छ । खुम्बु पासाङल्लामु गाउँपालिका–४ को सल्लाको जंगलभित्र पासोमा पारेर ६ वटा कस्तुरी मारिएको भेटिएको वडाअध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए ।

‘४ वटा जमिनमै र २ वटा पुरेको अवस्थामा मृत कस्तुरी भेटियो,’ खुम्जुङबाट वडा अध्यक्ष अधिकारीले कान्तिपुरलाई भने, ‘बाटोभन्दा दुई सय मिटर तलतिर पासोमा पारेर मारेको देखिन्छ, केही कस्तुरी रुखमा अड्किएको अवस्थामा भेटियो ।’ पूजाका लागि आवश्यक पर्ने निगालो लिन जंगल गएका बेला स्थानीयले मृत कस्तुरी भेटेका हुन् ।

उनीहरुले ५४ वटा पासोसमेत भेटाएका छन् ।  कस्तुरी मारिएको थाहा पाएपछि स्थानीयले निकुञ्जको टोली र सेनालाई जानकारी गराएका थिए। टोलीले स्थलगत अनुगमन गरेको छ । अधिकारीले निकुञ्जको संरक्षणका लागि सेना र कर्मचारी खटिए पनि गस्ती प्रभावकारी नहुँदा चोरी तस्करी बढेको बताए । यसबारे नाम्चेबजारस्थित् निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायसँग सम्पर्क गर्दा कुराकानी हुन सकेको छैन ।

स्रोतका अनुसार उपाध्यायले यसबारे निकुञ्ज विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईलगायतलाई आइतबार नै जानकारी गराएका छन् । महानिर्देशक भट्टराईले गस्ती प्रभावकारी बनाउन निर्देशन दिएका छन् । सगरमाथा निकुञ्जमा विगतमा पनि पासोमा पारेर कस्तुरी मारिने गरेको थियो।