काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति बनेमा वा प्रतिनिधिहरूले चुनेमा आफू अध्यक्षमा पुनः रहने संकेत गरेका छन्।
प्रेस चौतारी नेपालले आज आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा उनले महाधिवेशनले यथास्थितिमा केही परिवर्तन ल्याउने र पार्टी नेतृत्वमा क्रमिक पुस्तान्तरण तथा हस्तान्तरण हुने विश्वास व्यक्त गरे। ओलीले आफू कुनै पूर्वसर्त वा दबाबमा नचल्ने स्पष्ट गर्दै, सहमतिको पहल पार्टीभित्रै बसेर गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरुलाई आग्रह गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमाले लामो इतिहास र जनचाहनाअनुसार चल्ने पार्टी भएको बताउँदै, देश निर्माणको यात्रामा सक्रिय रहिरहेकाको दाबी गरे। उनले “एमालेलाई सिध्यायौँ” भन्नेहरूलाई मंसिर २७ गते भक्तपुर सल्लाघारीमा हुने महाधिवेशन उद्घाटन सत्रमा आएर एमालेको वास्तविक हैसियत हेर्न निम्तो दिए।

संसद् पुनःस्थापना लगायतका राजनीतिक विषयमा सभापति शेरबहादुर देउवासँग भेटघाट भएको उल्लेख गर्दै ओलीले एमाले संसद् पुनःस्थापनाको पक्षमा रहेको पुनः पुष्टि गरे। अदालतको फैसलाबारे असहमति भए पनि मान्दै आएको उल्लेख गर्दै उनले भदौ २३–२४ को आन्दोलनसम्बन्धी छानबिनका लागि बनेको आयोगमा आफू बयान दिनुपर्ने कानुनी आधार नभएको भने।
एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने छ।
