लोकतन्त्र सुदृढीकरण र सुशासन सुनिश्चित गर्न सबैको सहकार्य आवश्यक : गृहमन्त्री

राजनीति

काठमाडौं । मानवअधिकारका लागि महिला, एकल महिला समूहको संयोजकत्वमा तथा एजिङ नेपाल र युनिफिकेसन नेपालको सह–संयोजकत्वमा देशभरका १२५ संस्थाको सहकार्यमा आयोजित १७औँ राष्ट्रिय मानवअधिकार महाभेला आजबाट ललितपुरको जावलाखेलमा सुरू भएको छ ।

महाभेलालाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र र मानवअधिकार एक–अर्काका परिपूरक रहेको भन्दै वर्तमान परिवर्तित राजनीतिक परिप्रेक्ष्यमा लोकतान्त्रिक प्रणाली कमजोर नबनाई मानवअधिकारको प्राप्तिमा समस्या उत्पन्न हुन नदिन सरकार सतर्क रहेको बताए ।

‘लोकतन्त्र र मानवअधिकार एकअर्काका परिपुरक हुन् । लोकतन्त्रको सुदृढिकरणमा मानवअधिकारको र मानवअधिकार प्राप्तीमा लोकतन्त्रको भूमिका अत्यन्तै महत्वपूर्ण हुने कुरा जगजायर नै छ । वर्तमान परिवर्तित परिप्रेक्ष्यमा लोकतन्त्र कमजोर भई मानवअधिकार प्राप्तीमा केही समस्या हुन नदिन सचेत छौं । नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न लागि परेका छौं, यसका लागि आगामी प्रतिनिधिसभाको निर्वाचन स्वच्छ तथा भयरहित वातावरणमा सम्पन्न गराउन सबैलाई अनुरोध गर्दछु ।’

उनले अगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक भएको उल्लेख गरे ।
यससँगै उनले मानवअधिकारलाई लोकतान्त्रिक समाजको मेरुदण्डका रूपमा व्याख्या गर्दै सुशासन र भ्रष्टाचार न्यूनीकरण वर्तमान सरकारको प्रमुख दायित्व भएको पुनः पुष्टि गरे ।

‘जेनजेड आन्दोलनले खोजेको अपेक्षा सुशासन, जवाफदेहिता र खुला समाज हो । हामी हिंसालाई निरुत्साहित गर्छौं,’ उनले भने ।
प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सरकार निरन्तर प्रयासरत रहेको जानकारी दिंदै मन्त्री अर्यालले नीतिगत सुधारमार्फत भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सरकार प्रतिबद्ध भएको बताए ।

उननले भने, ‘मानवअधिकार लोकतान्त्रिक समाजको मेरुदण्ड हो । देशमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु, नीतिगत सुधार गरी भ्रष्टाचारमुक्त समाजको निर्माण गर्नु वर्तमान सरकारको दायित्व हो । जेनजेड आन्दोलनको अपेक्षा सुशासन र भ्रष्टाचारमुक्त खुला समाज हो, आन्दोलनको म्यान्डेट सुशासन हो । जेनजेड आन्दोलनले जवाफदेहिता खोजिरहेको छ, हामी हिंसालाई निरुत्साहित गर्छौं, प्राकृतिक विपद्बाट हुने घटना रोक्न प्रयास गरिरहेका छौँ ।’