जेनजी आन्दोलनपछिको क्षति अवलोकन गर्दै मन्त्री खरेल एनसेलमा

समाचार

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालयको अवलोकन गर्दै जेनजी आन्दोलनका क्रममा कम्पनीले भोगेको क्षतिबारे जानकारी लिएका छन्। मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै घटनाबारे विस्तृत ब्रिफिङ दिएका थिए।

भदौ २४ गतेको जेनजी आन्दोलनमा लैनचौरस्थित एनसेलको केन्द्रीय कार्यालयमा भएका तोडफोड, लुटपाट र आगजनीका कारण सेवामा असर परेपछि कम्पनीले हाल नक्खुस्थित कार्यालयबाट सेवा प्रदान गरिरहेको छ। एनसेलका अनुसार मुलुकका विभिन्न स्थानमा भएको तोडफोड र आगजनीबाट करिब ६५ करोड रूपैयाँ बराबरको क्षति भएको छ।

अवलोकनपछि मन्त्री खरेलले आन्दोलनकालीन क्षति बुझ्नै उद्देश्यले एनसेल आएका बताएका थिए। उनले एनसेलले जेनजीलाई लक्षित गरी नयाँ ‘प्याक’ ल्याउने तयारी गरिरहेको सुन्दा खुसी लागेको उल्लेख गरे।
“विद्यार्थी र जेनजीका लागि केही गर्नुस् भनेर मैले आग्रह गरेको थिएँ। उहाँहरूले नयाँ प्याकेज ल्याउने तयारी भएको बताउनुभयो,” मन्त्री खरेलले भने। उनले सगरमाथा आधार शिविर लगायत दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्ने एनसेलको योजनाको प्रशंसा गर्दै सरकारबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए।

एनसेलले जेनजी केन्द्रित प्याक सार्वजनिक गर्ने र देशभरका १०० विद्यार्थीलाई कुल १ करोड रुपैयाँ बराबरको ‘जेनजी छात्रवृत्ति’ घोषणा गर्ने तयारी गरेको जानकारी गराएको छ। साथै कम्पनीले सगरमाथा क्षेत्रको गोखरसेपसम्म पाँच नयाँ टावर थप गर्दै फोरजी सेवा विस्तार गर्न लागिएको पनि बताएको छ।