काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सोमबार सार्वजनिक गरेको छ। पहिलो त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा गर्ने प्रावधानअनुसार केन्द्रीय बैंकले यो समीक्षा सार्वजनिक गरेको हो।
नीतिगत दर र स्थायी तरलता सुविधा दर घट्यो
समीक्षा मार्फत राष्ट्र बैंकले ब्याजदर करिडोरभित्रका प्रमुख दरहरू घटाएको छ।
बैंकका अनुसार करिडोरको तल्लो र माथिल्लो सीमा नजिक ल्याउँदै नीतिगत दरलाई करिडोरको मध्यभागमा राख्ने उद्देश्यले स्थायी तरलता सुविधा (SLF) दर ६% बाट ५.७५% र नीतिगत दर ४.५०% बाट ४.२५% मा झारिएको छ।
मुद्दती निक्षेपमा १% ब्याजदर अन्तर खारेज
राष्ट्र बैंकले संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपबीच कायम रहँदै आएको कम्तीमा १% ब्याजदरको अनिवार्य अन्तर खारेज गरेको छ।
यसअघि बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत मुद्दतीभन्दा संस्थागत मुद्दती निक्षेपमा १ प्रतिशत विन्दुले कम ब्याजदर राख्नुपर्थ्यो। नयाँ प्रावधानले बैंकहरूलाई ब्याजदर निर्धारणमा बढी लचिलापन दिने देखिन्छ।

ओभरड्राफ्ट कर्जाको सीमा बढाइयो
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष) कर्जामा पनि परिवर्तन गरेको छ।
पहिले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाख रुपैयाँ थियो, जुन नयाँ व्यवस्थाअनुसार १ करोड रुपैयाँ पुर्याइएको छ।
यसले व्यक्तिगत कर्जाको पहुँच र प्रयोग क्षमता थप बढाउने अनुमान गरिएको छ।
