Cooperative Compliance Drive: अब सबै बचत–ऋण सहकारी अनिवार्य दर्ता

बैंक/वित्त

काठमाडौँ, बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थालाई अनिवार्य दर्ता प्रक्रियामा ल्याउन राष्ट्रिय सहकारी नियमन प्राधिकरणले आह्वान गरेको छ। अब सहकारी संस्थाहरूले अनलाइनमार्फत प्राधिकरणमा दर्ता गराउनुपर्नेछ।

यसका लागि आजदेखि ६० दिनको समय तोकिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–०८२’ (पहिलो संशोधन) जारी गर्दै मापदण्डअनुसार सहकारी संस्था दर्ताका लागि प्राधिकरणले बुधबार अनलाइन पोर्टल (विद्युतीय प्रणाली) सार्वजनिक गर्दै छ ।

प्रणाली सार्वजनिक भएपछि मात्र सहकारी संस्थालाई दर्ताका लागि दिइएको अवधि (म्याद) गणना सुरु हुनेछ । प्राधिकरणले हालै जारी भएको मापदण्डमा विद्युतीय दर्ता प्रणाली जारी भएपछि मात्र म्याद गणना सुरु हुने उल्लेख छ ।

प्राधिकरणमा दर्ता गर्दा सहकारी संस्थाले शुल्क तिर्नुपर्नेछ । संस्थाको कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्वका आधारमा शुल्क तय गरेको छ । जसअनुसार २ करोडसम्म कुल सम्पत्ति भएका सहकारीले १ हजार, २ करोडभन्दा बढी १० करोडसम्म ३ हजार, १० करोडभन्दा बढी २५ करोडसम्म ५ हजार, २५ करोडभन्दा बढी ५० करोडसम्म ७ हजार, ५० करोडभन्दा बढी १ अर्बसम्म १० हजार र १ अर्बभन्दा बढी कुल सम्पत्ति भएका सहकारीले १५ हजार सञ्चालन इजाजतपत्र दस्तुर तिर्नुपर्नेछ ।