‘फागुन २१ को चुनाव नै संवैधानिक निकास’ — प्रधानमन्त्री कार्की

राजनीति

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई देशलाई संवैधानिक अनिश्चितताबाट जोगाउने एकमात्र वैधानिक मार्ग भनेर व्याख्या गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै उनले सबै दललाई समयमै, जिम्मेवारीपूर्वक र पूर्ण प्रतिवद्धताका साथ निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरिन्।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकार युवापुस्ताको जायज आक्रोश र दशकौँ पुरानो राजनीतिक बेथितिविरुद्ध उठेको आन्दोलनको परिणामस्वरूप बनेको भन्दै भनिन्, “युवाले स्पष्ट सन्देश दिए — ‘अब पुग्यो! भ्रष्टाचार, कुशासन र पहुँचको राजनीति अब चल्दैन।’”

उनका अनुसार यही जनसन्देश र तत्कालीन आवश्यकता ध्यानमा राखेर राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी फागुन २१ गतेको निर्वाचन घोषणा गरेकी हुन्। यो कदमलाई उनले देशलाई संवैधानिक सङ्कटबाट जोगाउने र लोकतन्त्रलाई पुनः स्थिर मार्गमा उभ्याउने अनिवार्य निर्णय भएको बताइन्।

प्रधानमन्त्रीले देश अहिले निर्णायक मोडमा उभिएको उल्लेख गर्दै सर्वदलीय बैठक औपचारिकता मात्र नभई लोकतन्त्रको भविष्य सुरक्षित गर्ने साझा राजनीतिक संकल्पको मञ्च भएको बताइन्। उनले सबै दलले— लोकतन्त्रलाई बलियो बनाउने कि अनिश्चितताको खाडलमा धकेल्ने — सो प्रश्नको जवाफ जिम्मेवारीपूर्वक दिनुपर्ने आवश्यकता औंल्याइन्।

सरकार संवैधानिक दायित्वअनुसार फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन गर्ने अडानमा दृढ रहेको उल्लेख गर्दै उनले भनिन्, “हाम्रो संवैधानिक र राजनीतिक प्रतिबद्धतामा कुनै अलमल छैन। निर्वाचन अपरिहार्य छ, र यसप्रति हाम्रो अडान दह्रिलो र स्पष्ट छ।”