‘अर्थतन्त्र सुस्त, मनोबल न्यून : निजी क्षेत्रमा मात्र ८२ अर्ब कर्जा प्रवाह’

अर्थ

काठमाडौं ।चालु आर्थिक वर्ष (आव)को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको छ । साउनदेखि असोजसम्मा ८२ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह भएको केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति विषयक प्रतिवेदनमा उल्लेख छ ।

अर्थतन्त्रमा आएको सुस्तताका कारण बैंकबाट हुने कर्जा प्रवाह प्रभावित बनेको छ । अझ, पछिल्लो समय सुरक्षा व्यवस्था खल्बलिँदा निजी क्षेत्रको मनोबल गिर्नुका साथै लगानीको माहोल नै विथोलिएको छ । जसकारण बैंकमा कर्जाको माग नै नभएको बैंकरहरूले बताउँदै आएका छन् ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलन हिंसात्मक बन्दा निजी क्षेत्र प्रभावित बनेको हो । सोही कारण अहिले लगानीका लागि माहोल नबनेको उनीहरूले बताउँदै आएका छन् । राज्यले सुरक्षाको सुनिश्चितता गरेमात्रै लगानी बढाउन सकिने उनीहरूको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार, साउनदेखि असोजसम्ममा ८२ अर्ब ९३ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । यससँगै असोजसम्ममा ऋण ५५ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २.५ प्रतिशत (१ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ) ले बढेको थियो ।

आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा २.९ प्रतिशत मात्रै बढेको छ । यस्तै यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.४ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.४ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा १.६ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले बढेको छ भने सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.३ प्रतिशतले घटेको छ ।

वार्षिक बिन्दुगत आधारमा २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ ।

२०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो ।

चालु आवको तीन महिनासम्मको अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १.६ प्रतिशत, विकास बैंकहरूको कर्जा प्रवाह ०.५ प्रतिशत र वित्त कम्पनीहरूको १.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

२०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.० प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । २०८१ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.४ प्रतिशत र ६५.८ प्रतिशत रहेको थियो ।

असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३.० प्रतिशत, क्यास क्रेडिट कर्जा २.७ प्रतिशत, आवधिक कर्जा ०.७ प्रतिशत र हायर पर्चेज कर्जा ०.६ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ४.३ प्रतिशत र अधिविकर्ष कर्जा ३.३ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।