काठमाडौं, चालु आर्थिक वर्षको फर्स्ट क्वाटरमा नबिल बैंकले नाफामा गिरावट बेहोर्नु परेको छ, तर बैंकको वित्तीय संरचना अझै सुदृढ दिशामा रहेको छ । ब्याज आम्दानीमा आएको कमी र इम्पेरमेन्ट चार्जको वृद्धि कारण नाफा घटेपनि बैंकले खराब कर्जा अनुपात (NPL) घटाउन सफल भएको छ। नाफा घट्दा पनि गुणस्तरीय कर्जा व्यवस्थापन र जोखिम नियन्त्रणमा सुधार देखिनु नबिलको आन्तरिक सुदृढताका संकेतका रूपमा व्याख्या गर्न सकिन्छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको यसै अवधिको तुलनामा नबिल बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशतले घटेको छ । जसले गर्दा बैंकको नाफा तथा प्रतिशेयर आम्दानीमा गिरावट आएको छ ।
निक्षेप तथा कर्जा दुवैमा बढोत्तरी आएपनि निक्षेपवृद्धिको तुलनामा कर्जा प्रवाह सुस्त हुँदा नाफा प्रभावित भएको देखिन्छ । अर्कातर्फ ब्याजआम्दानीमा गिरावट आएको छ भने इम्पेरमेन्ट चार्ज समेत उल्लेखीय बढेको छ ।

गत आवको पहिलो त्रैमाससम्म ४ अर्ब १४ करोड ब्याज आम्दाी गरेको नबिलले चालु आवको पहिलो त्रैमाससम्म ३ अर्ब ९० करोड मात्र खुद ब्याज आम्दानी गरेको छ । बैंकको फि तथा कमिशन आम्दानीमा बढोत्तरी आएपनि खुद ब्याज आम्दानी घट्दा संचालन आम्दानी झण्डै ११ प्रतिशतले घटेपछि नबिल बैंकको खुद नाफामा गिरावट आएको हो ।
बैंकले जारी गरेको त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १४.५७ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ८६ पैसा घटेर २५ रुपैयाँ ९७ पैसामा सीमित भएको छ । यस अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) घटाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म १.४२ प्रतिशत रहेको खराब कर्जा ०.९७ प्रतिशतमा झरेको छ।
बैंकको खुद नाफा घटेपनि खराब कर्जामा आएको सुधारले वितरणयोग्य नााफामा भने बढेको छ । तर, बैंकको इम्पेरमेन्ट चार्ज बढेको छ ।
बैंकको इम्पेरमेन्ट चार्ज भने समीक्षा अवधिमा ४५ करोड ७७ लाख रुपैयाँबाट बढेर ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १५ पैसा रहेको छ ।
२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ । बैंकले पहिलो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।
असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ।
