काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ ।
बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको छ ।
षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।

