खोटाङ काङ्ग्रेसका कारवाहीमा परेका सभापति बिष्णु कुमार राईले पार्टी नेतृत्वलाई नियमित महाधिवेशनको बाटोबाट अघि बढ्न आह्वान गरेका छन् ।
भोलिदेखि (असोज २८) सुरु हुन लागेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकलाई लक्षित गर्दै उनले पार्टीका शीर्ष नेताहरूमुखि एउटा लामो लेखमार्फत तीव्र असन्तोष र सुझाव प्रकट गरेका हुन् ।
राईका अनुसार अहिले पार्टीभित्र विशेष महाधिवेशन वा नियमित महाधिवेशन गर्ने भन्ने बहस उत्कर्षमा पुगेको छ । तर, उनको बुझाइमा नियमित महाधिवेशन नै पार्टी सुदृढीकरणको एक मात्र बाटो हो ।

‘नियमित महाधिवेशन गर्न के अप्ठ्यारो छ ?’ भन्दै उनले लेखेका छन्, ‘जुन जिल्लाले अझै क्रियाशील सदस्यता बुझाउन सकेका छैनन्, तिनलाई पछि राखेर भए पनि निर्धारित समयमा नियमित महाधिवेशन गर्नुपर्छ ।’
राईले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमाथि पनि खुलेर प्रश्न उठाएका छन् । उनी भन्छन्, ‘आज देउवा दाइको विकल्प खोज्ने उभार बढ्दैछ । के यो उमेर–हदका कारण हो ? कि उहाँको कार्यशैली र व्यवहारका कारण पार्टीको शाख गिर्दै गएको हो ?’
उनले देउवाको नेतृत्वकालमा जिल्ला कार्यसमितिहरू निष्क्रिय बनेको, निष्ठावान कार्यकर्ताहरू कारबाहीमा परेको र आन्तरिक असन्तोष बढेको आरोप पनि लगाएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ‘कांग्रेसको शाख गिर्न नदिने’ भन्दै खटिएका नेताहरूमाथि अन्यायपूर्ण अनुशासनात्मक कारबाही भएको उनको टिप्पणी छ ।
राईका भनाइमा, ‘महामन्त्रीहरूको प्रभाव हरायो, केन्द्रीय सदस्यहरू बोल्न नसक्ने बने, निरीक्षणमा पठाइएका प्रतिनिधिहरू पनि प्रतिवेदन गुमाएर फर्किँए । यसरी पार्टीभित्र निष्क्रियता र डरको वातावरण बन्यो ।’
कांग्रेसलाई अब अनुशासनको तरवार होइन, एकताको अभिभावक चाहिएको छ
नेता राईले महाधिवेशनलाई केवल पद बाँडफाँडको अभ्यास नभई नयाँ राजनीतिक दिशा तय गर्ने ऐतिहासिक अवसरको रूपमा लिनुपर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘महाधिवेशनले कसैको गर्दनमा अनुशासनको तरवार बजार्ने होइन, पार्टीलाई सही दिशातर्फ उन्मुख गराउने जिम्मेवार अभिभावक उत्पादन गर्नुपर्छ ।’
उनका अनुसार पार्टीभित्र उत्पन्न असन्तोष, अनुशासनको डर र आन्तरिक वैमनस्यता हटाउन एकतामूलक सोच जरुरी छ । ’अब सबै कार्यकर्ताले वडास्तरदेखि नै ईमान्दारीका साथ वृहत एकताको तयारीमा जुट्नुपर्छ,’ उनले लेखेका छन् ।
राईले सभापति देउवालाई आदरपूर्वक सल्लाह दिँदै भनेका छन्,‘यदि उहाँले बाँकी कार्यकालमा सबै कार्यकर्ताको सम्मान र एकताको प्रतीक बनेर जिम्मेवारी हस्तान्तरण गर्नुभयो भने, उहाँ कांग्रेसभित्र स्थायी अभिभावकको रूपमा रहन सक्नुहुन्छ ।’
उनी भन्छन्, ‘उहाँले जीवनमा प्रजातन्त्रका लागि ठूलो त्याग गर्नुभएको छ, तर पछिल्ला केही व्यवहारले त्यो छवि म्लान हुन पुगेको छ । अब उहाँले कार्यशैली आम कार्यकर्तामुखी बनाए भने त्यो सबैका लागि सुखद हुनेछ ।’
राईले २०५९ सालको पार्टी विभाजन स्मरण गर्दै भनेका छन्,‘त्यतिबेला हामी मूल रुख पक्षमा रहे पनि प्रजातान्त्रिक काँग्रेससँग सुमधुर सम्बन्ध राख्यौँ, एकताको प्रयास कहिल्यै मरेन । अहिले पनि कांग्रेसको सर्वोच्च शक्ति यही वृहत्तर एकतामै निहित छ ।’
उनले पार्टीभित्रका नेताहरूबीचको आपसी आरोप–प्रत्यारोप, निषेध र असहिष्णुतालाई अन्त्य गर्दै ‘कसैले कसैलाई निषेध होइन, सबैलाई समेट्ने’ नीतिमा फर्किनुपर्ने बताएका छन् ।
२०७९ सालको प्रतिनिधिसभा चुनावताका बिष्णु कुमार राईमाथि पार्टीले अनुशासन सम्बन्धी कारबाही गरेको थियो ।
