“Prabhu Group – Building the future”को दाबी धरमर: PrabhuPAY Wallet मा राष्ट्र बैंकको ताल्चा, देवीप्रकाश भट्टचन तनावमा

बैंक/वित्त

प्रभु ग्रुपले वर्षौँदेखि अगाडि सारेको ब्रान्ड परिचय ‘बिल्डिङ द फ्यूचर’ अहिले आफ्नै दाबीमाथि प्रश्न खडा हुने स्थितिमा पुगेको छ।

डिजिटल भुक्तानी सेवा सञ्चालन गरिरहेको प्रभु टेक्नोलोजी प्रालिको अनुमतिपत्र नेपाल राष्ट्र बैंकले नवीकरण नगरेपछि कम्पनीको वालेट सेवा सिलबन्दीको मोडतिर अघि बढेको छ। कम्पनीको वित्तीय स्थिति, व्यवस्थापन क्षमता र उपभोक्ता सुरक्षाबारे गम्भीर चर्चा फेरि सतहमा आएको छ।

नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्रा.लि.लाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायक (Payment Service Provider) लाइसेन्स नवीकरण नगरेको औपचारिक जानकारी दिएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग, बालुवाटारले जारी गरेको सूचनामा भनिएको छ– “प्रभु टेक्नोलोजी प्रा.लि.लाई मिति २०७६ फागुन ११ गते प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा १३(४) बमोजिम नवीकरण नगरिएको व्यहोरा जानकारीका लागि प्रकाशित गरिएको हो।”

राष्ट्र बैंकले कम्पनीका सेवा प्रयोगकर्तालाई पनि सावधान रहन आग्रह गरेको छ। यदि कुनै आर्थिक कारोबार वा बक्यौता बाँकी रहेको भए सो आइतबार प्रकाशित सूचना मितिबाट ३० दिनभित्र सम्बन्धित संस्थासँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

यो निर्णयपछि प्रभु टेक्नोलोजीका मोबाइल वालेट, अनलाइन भुक्तानी र अन्य डिजिटल सेवाका प्रयोगकर्तामाझ चिन्ता बढेको छ। कम्पनीले पछिल्ला वर्षमा मोबाइल वालेट, युटिलिटी बिल भुक्तानी, अनलाइन रिचार्ज, इन्टरनेट पेमेंट गेटवेलगायत सेवा सञ्चालन गर्दै आएको थियो। तर अनुमतिपत्र नवीकरण नभएकाले अब यी सेवा निरन्तर सञ्चालन गर्न नपाउने र कम्पनी बन्द हुने अवस्था सिर्जना भएको छ।

सन् २०१७ मा स्थापित प्रभु टेक्नोलोजी प्रालिले ‘प्रभु पे’ वालेटमार्फत डिजिटल भुक्तानी सेवा सञ्चालन गर्दै आएको थियो। कम्पनीले २०७६ फागुन ११ गते नेपाल राष्ट्र बैंकबाट आधिकारिक इजाजतपत्र प्राप्त गरेको थियो। गुगल प्ले स्टोरमा प्रभु पे एप्स ५ लाखभन्दा बढी पटक डाउनलोड गरिएको छ।

तर प्रतिस्पर्धात्मक बजारमा पर्याप्त कारोबार गर्न नसक्दा सञ्चालन खर्च धान्न नसक्ने अवस्था आएको र कम्पनी निरन्तर घाटामा रहेको बताइन्छ। अनुमतिपत्र नवीकरण नभएसँगै लाखौं प्रयोगकर्ताको वालेट तथा कारोबार रोकिएको छ। राष्ट्र बैंकले भने ग्राहकको लगानी सुरक्षित रहने र सम्पर्कका लागि ३० दिनको समय दिइएको स्पष्ट गरेको छ।

यसको साथै रास्ट्र बैंकले फस्ट पे टेक्नोलोजी प्रा.लि.लाई प्रदान भएको भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र रद्द भएको सूचना जारि गरेको छ |

Notice-PSD-Prabhu-Technology-web