सुरक्षा चूनौती बढ्दै जाँदा गृहमन्त्री अर्यालले बोलाए उच्चस्तरीय बैठक

राजनीति

काठमाडौं । जेन–जी आन्दोलनपछिको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग सिंहदरबारमा उच्चस्तरीय सुरक्षा बैठक गरेका छन्।

गृहमन्त्रालयमा आज बसेको छलफलमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग (राअनि) का प्रमुख टेकेन्द्र कार्की सहभागी थिए। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल भने बैठकमा उपस्थित थिएनन्, तर सेनाको उच्च तहको प्रतिनिधित्व रहेको स्रोतले जनाएको छ।

बैठकमा हाल उत्पन्न राजनीतिक तनाव र देशभर बढ्दै गएको सुरक्षा चुनौतीका बीच नयाँ रणनीति तय गर्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ।

हाल जेन–जी समूहले भदौ २३ गतेको आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गर्न दबाब बढाइरहेका छन्। उता, एमालेनिकट अखिलले काठमाडौंका मेयर बालेन शाह र ‘हामी नेपाली’ का संयोजक सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गराएको छ।

यस्ता दुवै पक्षका गतिविधिबीच उत्पन्न जटिल अवस्थाबारे गृहमन्त्री अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग लामो समय छलफल गरेका हुन्।

उता, आजमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई असंवैधानिक ठहर गर्दै संविधान र संसद्को रक्षाका लागि ‘निर्णायक संघर्ष’ मा जाने घोषणा गरेका छन्।