लकडाउनको बेला गुल्मीमा भिषण आगलागी हुँदा एक जनाको मृत्यु, ५ गम्भीर घाइते

विविध

काठमाडौं । लकडाउनको समयउमा भएको भिषण आगलागीमा नसोचेको क्षति भएको छ । गुल्मीमा आगलागी हुँदा जलेर एक जनाको ज्यान गएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरको बसपार्क नजिकैको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समीर खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

एक्कासी आगलागी सुरु भएपछि बाहिर निस्कन नभ्याउँदा उनको मृत्यु भएको हो । घरका अरु तीन सदस्य र बाहिरका दुई जना गरी पाँच जना घाइते भएका छन् ।आगलागीबाट पसल सञ्चालक खनाल, उनकी श्रीमती रुपा, छोरा सञ्जय घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले जानकारी दिनुभयो ।

घाइतेको शरीरका विभिन्न भाग जलेको छ । घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि पाल्पा पठाइएको स्थानीय तेजेन्द्र थापाले बताउनुभयो । पसल सञ्चालक खनाल बागलुङको बरेङ गाउँपालिका वडा नम्बर–३ बाटाकाचौरका वडा अध्यक्ष पनि हुनुहुन्छ । आगलागी अहिले नियन्त्रणमा लिइएको भए पनि कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।