रसुवा – रसुवाको लाङटाङ क्षेत्र घुम्न गएका पर्यटक समूहमध्ये चार जना खोलाले बगाएर बेपत्ता भएका छन्। असोज १७ गते १६ जनाको समूह ट्रेकिङका लागि हिँडेको थियो।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार शनिबार गोसाईंकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्सा तर्ने क्रममा दुर्घटना भएको हो। खोलाले बगाएका आठ जनामध्ये चार जनाको उद्धार भए पनि संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, सङ्गीता श्रेष्ठ (मध्यपुर ठिमी नगरपालिका) र रवि श्रेष्ठ (भक्तपुर) अझैसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण खोला बढेको र एकैपटक पार गर्न नसकेपछि पालैपालो तर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
हाल प्रहरीले स्थानीयवासीको सहयोगमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखेको छ।

File Photo
