दशैं मनाउन घर फर्किएका एक युवाको वीरगन्जमा हत्या भएको छ । मुम्बईमा काम गर्ने वीरगन्ज–११ रानीघाट निवासी शिवम साह कानुनको मंगलबार राति वीरगन्जको गीता मन्दिर नजिक धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
गीता मन्दिर नजिकै दुई समूहबीच भएको भिडन्तमा शिवमलाई धारिलो हतियार प्रहार गरी घाइते बनाइएको र उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार दुई समूहबीचको झगडामा शिवम गम्भीर घाइते भएका थिए र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए ।
गम्भीर घाइते भएका शिवमलाई अस्पताल ल्याउँदा बाटोमै मृत्यु भइसकेको नारायणी अस्पतालका सूचना अधिकारी डा.उदयनारायण सिंहले जानकारी दिए ।
शिवमको देब्रे तथा दाहिने घाटी, पिठ्युँ, छातीलगायतका स्थानमा गहिरो चोट लागेको र ती घाउका कारण अत्याधिक रक्तस्राव भई मृत्यु भएको हुनसक्ने उनले आशंका व्यक्त गरे ।
शिवमको शरीरमा आधा दर्जनभन्दा बढी चोट लागेको र बाँकी विवरण शवपरीक्षणपछि पुष्टि हुने जानकारी डा.सिंहले दिए ।
मंगलबार राति ११ बजेर ४० मिनेटमा शिवमलाई अस्पताल ल्याइएका थिए भन्ने जानकारी अस्पतालस्थित प्रहरी बिटले दिएको छ । शिवमलाई आकस्मिक कक्षमा ल्याउँदा मृत्यु भइसकेको चिकित्सकहरूले तुरुन्तै जानकारी दिएको सुरक्षाकर्मीहरूले बताएका छन् ।
शिवमको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । हत्यामा संलग्न भएको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको डिएसपी बस्नेतले जानकारी दिए ।
मृतक शिवमकी श्रीमतीले घटस्थापनाकै दिन छोरो जन्माएकी थिइन् । नौ दिने छोराका पिता भएका शिवमलाई उनका दुई साथिले मंगलबार साँझ मेला देखाउन लगेका थिए भन्ने कुरा उनकी श्रीमतीले बताइन् ।
शिवम चार महिना अगाडि मुम्बईबाट घर फर्किएका थिए । शिवमका दाइ सत्यमको करीब एकहप्ता अगाडि दूधमा विष हालेर साथीसँगै हत्या गरिएको परिवारका सदस्यहरूले जानकारी दिएका छन् ।
सत्यमलाई वीरगन्ज–२४ रामगढवा निवासी साथीसँगको योजनामा विषमिश्रित दूध खुवाएर हत्या गरिएको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिइए पनि हालसम्म कुनै कारबाही नभएको गुनासो परिवारका सदस्यहरूले गरेका छन् ।
दशैंको मेला सुरु भएपछिदेखि नै गीता मन्दिरको पूर्वतर्फ रहेको उत्तर फर्ताको सडक छेउमा प्रहरीले मिलेमतोमा नम्बर बोर्डको जुवा खेलाइँदै आएको थियो । जुवा खेल्ने क्रममा विवाद उत्पन्न भई दुई समूहबीच झडप भएको र सोही झडपमा परी शिवमको मृत्यु भएको हुन सक्ने स्थानीयले आशंका व्यक्त गरेका छन् ।