आज आश्विन शुक्ल अष्टमी महागौरीको पूजा गरी महाअष्टमी मनाइँदैछ ।
अष्टमीको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधिअनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ । गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा साना साना ढुंगाहरुलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।
देवीभागवतमा उल्लेख अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्न आश्विन शुक्ल अष्टमीमा ज्यादै शक्तिशाली भद्रकाली उत्पन्न भएकी थिइन् ।

त्यसकारण यस दिन महाकाली (भद्रकाली)को विशेष पूजाआजा गरिने मान्यता छ । त्यस दिन भद्रकालीको १६ सामग्रीले पूजा गर्ने प्रचलन छ ।
पुजा गर्दा उच्चारण गर्ने मन्त्र-
मंत्र: ‘ॐ ऐं ह्रीं क्लीं महागौर्ये नम:।’
हिन्दु शाक्त परंपरामा नवदुर्गा सम्प्रदायको ठूलो महत्व छ, यिनीहरू दानवरूपी शक्तिलाई विनाश गर्ने सामुहिक रूपमा पूजिने नौवटी देवीहरूको संयुक्त समूह हो । आफुहरूले समाधान गर्न नसकेका समस्याहरू सल्टाउन, पराजित गर्न नसकेका दैत्यहरूलाई नष्टगर्न, आफुहरूमा विशेष शक्ति आर्जन गर्न, देवताहरू पनि यिनै दुर्गा देवीहरूलाई आह्वान गरि पूजा–आराधना गर्दछन् ।
वैदिक धर्ममा ४ रात्री प्रमुख छन् – मोहरात्री, सुखरात्री, शिवरात्री, कालरात्री । यी मध्ये कालरात्री नवदुर्गाहरू पुजिने रात्री हुन् । रात्री भनेको देवता हो र यो सोमतत्वको प्रतिक पनि हो; सोमतत्वले प्रकृति वा शक्ति भन्ने वुझाउँछ र कालरात्रीमा पुजिने शक्तिचाहिँ नवदुर्गाहरू हुन् । भगवती देवी सर्वव्यापक एकात्मक शक्ति भएपनि उहाँका विभिन्न स्वरूपहरू उपासनाका लागि प्रयुक्त हुन्छन् । ती मध्ये पनि नवदुर्गाका स्वरूप अत्यन्तै पवित्र मानिन्छन् । शिवपुराणमा शिवद्वारा पुत्र गणेशको शिरोच्छेदन गरिंदा देवी पार्वती अत्यन्त क्रुद्ध भई आफ्नै शरीरबाट शिव लगायत सम्पूर्ण देवताहरूको संहार गर्ने हेतु लाखौ शक्ति (देवी)हरूको सृष्टि गरेकी थिइन् र तीनीहरूमध्ये नवदुर्गा प्रमुख मानिन्छन् । यी नवदुर्गाहरूले चारै दिशाबाट देवताहरूलाई त्राहिमाम् पारे पश्चात देवताहरूले नवराक्रको अवसरमा त्रमशः यीनै नवदुर्गाहरूको पुजा आरधना गरेपछि दुर्गाहरू शान्त भएको चर्चा पाइन्छ । प्राचीन समयमा नवरात्रमा नै विजयादशमीका दिन राजाहरू अपराजिता दुर्गाको पूजागरी आफ्नो राज्यको दशै दिशाको सीमाबढाउन अभियान आरम्भ गर्दथे ।
नवरात्रका अवसरमा यसै गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ ।
नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ। काठमाडौंको गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, ललितपुरको बंगलामुखी काभ्रेको पलाञ्चोक भगवती, बाँकेको वागेश्वरी, गोरखाको मनकामना लगायत शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गरेको छ।
हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ । दुर्गा–सप्तशती लगायत पुराणहरूमा नवदुर्गा समुहमा शैलपुत्री,, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धमाता वा सिद्धिदात्री पर्दछन् । दुर्गा–सप्तशतीमा ब्रह्माजीले मार्कण्डेय ऋषिलाई यी नौ नामले प्रसिद्ध नवदुर्गा देवीहरू छन् ।
नवदुर्गाका नौवटा स्वरुपको वर्णन:
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।
