काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने सहमति जुटेको छ। सहमतिपछि राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई सो पदमा नियुक्त गर्ने भएका छन्।
राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलका अनुसार कार्कीलाई आज राति ९ बजे शपथ खुवाइनेछ।
यसअघि, नयाँ सरकार गठनबारे छलफल गर्न कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो। सो टोलीमा जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल पनि सहभागी थिए।

अन्तरिम सरकार प्रमुखका रूपमा कार्कीको नाममा सहमति भए पनि संसद् विघटनबारे भने प्रारम्भिक रूपमा मतैक्य हुन सकेको थिएन। दुवै पक्ष आ–आफ्नो अडानमा रहे पनि अन्ततः संविधान विघटन गर्ने विषयमा सहमति जुटेको हो।
यसअघि, जेनजी आन्दोलनको चर्को दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए। असामान्य परिस्थितिलाई ध्यानमा राखी दिएको राजीनामा राष्ट्रपति पौडेलले त्यही दिन स्वीकृत गरेका थिए।
