माछापुच्छ्रे बैंकको २७औँ साधारण सभा असोज १० गते

बैंक/वित्त

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २७औँ वार्षिक साधारण सभा असोज १० गते पोखरा ग्राण्ड होटलमा गर्ने भएको छ। बिहान ११ बजे शुरु हुने सभामा सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरिनेछ।

गत आर्थिक वर्षको नाफाबाट बैंकले शेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ।

त्यस्तै, बैंकले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पनि ल्याएको छ। यसका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

सभाले सर्वसाधारण समूहको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्तिलाई समेत अनुमोदन गर्नेछ।

माछापुच्छ्रे बैंकले पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९२.४४ प्रतिशतले वृद्धि हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षमा बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा गर्ने प्रक्षेपण पहिल्यै गरेको थियो, जुन वास्तविकतासँग मेल खाएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ मा नाफा अझै बढेर २ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। यो चालु वर्षको तुलनामा करिब ४२ करोड रुपैयाँले बढी हो।

बैंकको कुल सञ्चालन आम्दानी गत वर्ष १६.५१ प्रतिशतले बढेर ७ अर्ब ४४ करोड ६ लाख पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी १५.४० प्रतिशतले वृद्धि भई ५ अर्ब ७५ करोड ६७ लाख पुगेको छ, जुन अघिल्लो वर्ष ४ अर्ब ९८ करोड ८१ लाख थियो।

सञ्चालन नाफा झनै उल्लेखनीय दरले, ९९.९१ प्रतिशतले वृद्धि भई ३ अर्ब ३३ करोड २ लाख पुगेको छ। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी पनि १८.१६ प्रतिशतले बढेर १ अर्ब २८ करोड ५१ लाख पुगेको छ।

निक्षेप र कर्जा परिचालन विस्तार

चालु आर्थिक वर्षमा बैंकले १ खर्ब ५ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गर्ने लक्ष्य राखेको छ। आगामी वर्ष यो लक्ष्य क्रमशः १ खर्ब २५ अर्ब र १ खर्ब १० अर्ब ७७ करोड रुपैयाँमा पुर्याउने योजना बैंकको छ।