“Capital Giant RK Group Steps into Digital Platform: फोनपेमा २० प्रतिशत सेयर”

अर्थ

काठमाडौं । व्यवसायिक घराना खेतान समूह आधिकारिक रूपमा डिजिटल भुक्तानी सेवा प्रदायक फोनपे मा प्रवेश गरेको छ। समूहले २० प्रतिशत सेयर खरिद गर्दै फोनपेमामा लगानी गरेको हो।

यसअघि फोनपे र खेतान समूहबीच सेयर खरिद–बिक्रीको प्रारम्भिक सम्झौता भइसकेको थियो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेश गरिएपछि, राष्ट्र बैंकले ‘फिट एन्ड प्रोपर्टेस्ट’ गरेर खेतान समूहलाई योग्य ठहर गर्दै स्वीकृति दिएको हो।

२० प्रतिशत सेयरमध्ये अध्यक्ष राजेन्द्र खेतानले एक्लै १४ प्रतिशत सेयर लिएका छन् भने बाँकी ६ प्रतिशत खेतान समूहसँग सम्बन्धित लगानीकर्ताले लिएका छन्। तीमध्ये र्यापिड इन्भेस्टमेन्ट, नेपाल इम्प्याक्ट फन्ड वान, नेपाल इन्फ्रास्ट्रक्चर फन्ड, ग्लोबल इक्विटी फन्ड, स्वेडा इक्विटी फन्ड र लक्ष्मी माइक्रो इन्भेस्टमेन्ट रहेका छन्।

फोनपेको चुक्ता पुँजी हाल ५० करोड ५० लाख रुपैयाँ रहेको छ। यस कारोबारसँगै कम्पनीको मूल्यांकन करिब ६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे, माउ कम्पनी एफ वान सफ्ट अन्तर्गत सञ्चालनमा रहेको छ। हाल यसले नेपालमै मात्र नभई अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि प्रदान गरिरहेको छ। भारतको यूपीआईमार्फत भारतीय प्रयोगकर्ताले नेपालमा फोनपे क्यूआर प्रयोग गरेर भुक्तानी गर्न सक्छन्।

फोनपेको सञ्चालक मण्डलमा अध्यक्ष सशिन जोशी, सिद्धान्त ठकुरी र सम्भव सिरोहिया रहेका छन् भने सीईओ दिवस कुमार हुन्।

खेतान समूह वित्तीय क्षेत्र, बीमा कम्पनी, आईटी तथा भेञ्चर क्यापिटलमा सक्रिय लगानीकर्ता हो।