काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कामचलाउ घोषणा गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट आज न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।
यो मुद्दा आजको पहिलो नम्बरमा रहेको छ र तेस्रो सुनुवाइमा प्रवेश गर्न लागेको हो। यसअघि, न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै सरकारबाट लिखित जवाफ मागेको थियो। त्यसपछि दोस्रो सुनुवाइमा न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले तीनवटा फाइल झिकाउने आदेश गर्दै आजका लागि पेशी तोकेको हो।
अदालतले नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र पछि पुनः समर्थन गरेको पत्र संसद् सचिवालयबाट मगाउन आदेश गरेको छ। साथै, सो पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले दिएको राजीनामाको आधिकारिक पत्र पनि पेश गर्न भनिएको छ।

आजको सुनुवाइले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनुपर्ने वा नलिनुपर्ने र उनी कामचलाउ भए/नभएकोबारे ठोस निर्णय दिने अपेक्षा गरिएको छ।
यसैबीच, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध दायर भएको अदालत अवहेलना मुद्दा पनि आज नै न्यायाधीश श्रेष्ठ र पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुने तय भएको छ। श्रेष्ठले अदालत, न्यायाधीश तथा समग्र न्याय प्रणालीमाथि प्रश्न उठाउने गरी सार्वजनिक टिप्पणी गरेको आरोपमा भदौ १५ गते आयुष दाहालले मुद्दा दायर गरेका थिए। दायर रिटमार्फत श्रेष्ठलाई अदालत अवहेलनामा कारबाही गर्न माग गरिएको छ।
