काठमाडौं । सिक्किमका स्वतन्त्र फिल्म निर्मात्री त्रिबेणी राईको पहिलो फिचर फिल्म शेप अफ मोमो (Shape of Momo) प्रतिष्ठित बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (BIFF)–२०२५ को भिजन सेक्सनमा चयन भएको छ ।
एशियाको सबैभन्दा ठूलो र चर्चित मानिने बुसान फिल्म फेस्टिभलले नयाँ तथा साहसी फिल्मकर्मीको कामलाई विश्व दर्शकमाझ पुर्याउने विशेष पहिचान बनाउदै आएको छ |
फेस्टिभलको भिजन सेक्सन विशेषगरी मौलिक कथा र नयाँ शैली प्रस्तुत गर्ने स्वतन्त्र एशियाली फिल्महरूको सेग्मेंट हो ।


यस सेक्सनमा उदाउँदा तथा मिड करिअरमा रहेका निर्देशकहरूको कामलाई ग्लोबल फोरम दिने उद्देश्य रहेको छ । राईको फिल्म यसै सेक्सनमा एशियाका बहुप्रतिक्षित समकालीन फिल्महरूसँगै प्रदर्शित हुनेछ ।
शेप अफ मोमो सेप्टेम्बर महिनामा स्पेनको सान सेबास्टियन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत प्रदर्शन हुने भएको छ । लगातार दुईवटा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा चयन भएको यस उपलब्धिले राईको करिअरलाई आशाजनक सुरुवात दिलाउनुका साथै हिमालय क्षेत्रका नयाँ र मौलिक सिनेमाटिक फिगरहरुलाई विश्वस्तरमा चिनाउन सहयोग पुर्याएको छ ।
