काठमाडौं । निलम्बनमा रहेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले पदमुक्त गरेको छ। उनी नियुक्त भएको छ महिनामै वर्खास्त भएका हुन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई वर्खास्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद् निकट स्रोतले जनाएको छ। यसअघि आइतबार मात्र उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनलगत्तै मन्त्रिपरिषद् बैठक बसेर उनलाई पदमुक्त गर्ने निर्णय गरिएको हो।
ओझामाथि अनुभवको फर्जी कागजात बनाएको र कीर्ते गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। त्यस्तै, उनको योग्यता सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।

सरकारले गत १२ फागुनमा उनलाई बीमा प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो। तर, योग्यतामै प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
