काठमाडौं,सर्वोच्च अदालतले रौतहटको गौरस्थित राईसमिलमा १९ वर्षअघि घटेको ‘गौर हत्या काण्ड’ सम्बन्धी मुद्दा चलाउन आदेश दिएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले निवेदकको माग अनुसार मुद्दा अघि बढाउने आदेश दिएको हो।
उक्त रिट त्रिभुवन साहसहितले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिल कार्यालय गौरलाई प्रतिवादी बनाएर दायर गरेका थिए। सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले मुद्दा दर्ता गर्ने परमादेश दिएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जानकारी दिए।
यो आदेशसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सो मुद्दामा तानिने भएका छन्। २०६३ चैत ७ गते रौतहटको गौरमा भएको उक्त घटनामा २८ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो।

त्यतिबेला अन्तरिम संविधान जलाएर मधेश आन्दोलनको नेतृत्व गरिरहेका मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि प्रत्यक्ष संलग्नताको आरोप लाग्दै आएको छ। तत्कालीन माओवादीले यादवको निर्देशनमा उनका कार्यकर्ताले भाला, छुरा, लाठी र गोली प्रयोग गरी आफ्ना कार्यकर्ताको निर्मम हत्या गरेको दाबी गर्दै आएको छ।
