काठमाडौं, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) ले आर्थिक वर्ष २०८१/८२ मा नाफामा प्रभावशाली उछाल ल्याउँदै ६४ प्रतिशतले वृद्धि गरेको छ। खुद नाफा ६ अर्ब ७५ करोड रुपैयाँ नाघेसँगै बैंकको नतिजाले शेयरधनीलाई उत्साहित बनाएको छ। तर, यसैबीच बैंकको खराब कर्जा (NPL) ५.८५ प्रतिशतमा पुगेको तथ्याङ्कले स्थायित्वप्रति प्रश्न उठाएको छ। नाफा बढेपनि जोखिम बढ्दै गएको संकेतले बजारमा ‘वार्निङ बेल’ बजाएको विश्लेषकहरूको टिप्पणी छ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ रहेको छ। यस आधारमा बैंकको लाभांश वितरण क्षमता १.३३ प्रतिशतमा सीमित भएको छ। अघिल्लो वर्ष भने बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६९ करोड ३२ लाख ३२ हजार रुपैयाँ ऋणात्मक अवस्थामा थियो।
नाफा वृद्धि भएको कारण प्रतिसेयर आम्दानी (EPS) १२.०४ रुपैयाँबाट उकालो चढ्दै १९.८० रुपैयाँमा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ २३१.०२ रुपैयाँ रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E ratio) ११.६७ गुणा देखिएको छ। तर, खराब कर्जा (NPL) अघिल्लो वर्षको ४.९१ प्रतिशतबाट बढ्दै ५.८५ प्रतिशतमा पुगेको छ।

निक्षेप र कर्जा लगानीतर्फ पनि बैंकले राम्रो प्रगति देखाएको छ। गत असारसम्ममा बैंकको निक्षेप १७ प्रतिशतले बढेर ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख ७२ हजार रुपैयाँ पुगेको छ। सोही अवधिमा कर्जा लगानी १८ प्रतिशतले बढ्दै ३ खर्ब २६ अर्ब ९३ करोड २२ लाख ९७ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्ष यसले क्रमशः ४ खर्ब ३ अर्ब ४१ करोड ६९ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन र ३ खर्ब ५ अर्ब ४९ करोड ४८ लाख १९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो।
यस आधारमा बैंकको सीडी रेसियो ७९.२२ प्रतिशतबाट घटेर ७४.४४ प्रतिशतमा झरेको छ। हाल बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ र जगेडा ३२ अर्ब ७४ करोड १२ लाख २४ हजार रुपैयाँ रहेको छ।
ब्याज आम्दानीतर्फ बैंकले गत वर्ष ६.५४ प्रतिशत गिरावट खेपेको छ। यस अवधिमा खुद ब्याज आम्दानी १४ अर्ब १२ करोड ८१ लाख ६७ हजार रुपैयाँमा झरेको छ, जबकि अघिल्लो वर्ष यो १५ अर्ब ११ करोड ६९ लाख ७० हजार रुपैयाँ थियो। तर, खुद शुल्क तथा कमिसन आम्दानी भने २३.९१ प्रतिशतले बढेर २ अर्ब २० करोड ३२ लाख ३८ हजार रुपैयाँ पुगेको छ।
कुल सञ्चालन आम्दानी ०.७३ प्रतिशत घटेर १७ अर्ब ६४ करोड १९ लाख ३८ हजार रुपैयाँमा सीमित भए पनि सञ्चालन नाफा ५८.६६ प्रतिशतले बढ्दै १० अर्ब १४ करोड २७ लाख ६६ हजार रुपैयाँ पुगेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक २०८१/८२
-
खुद नाफा : ६४.४३% वृद्धि, ६ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ (अघिल्लो वर्ष ४ अर्ब १० करोड)
-
वितरणयोग्य नाफा : ४९ करोड १३ लाख रुपैयाँ → लाभांश वितरण क्षमता १.३३% मात्र
-
ब्याज आम्दानी : ६.५४% घटेर १४ अर्ब १२ करोड रुपैयाँ (अघिल्लो वर्ष १५ अर्ब ११ करोड)
-
शुल्क तथा कमिसन आम्दानी : २३.९१% वृद्धि, २ अर्ब २० करोड रुपैयाँ
-
कुल सञ्चालन आम्दानी : ०.७३% घटेर १७ अर्ब ६४ करोड रुपैयाँ
-
सञ्चालन नाफा : ५८.६६% वृद्धि, १० अर्ब १४ करोड रुपैयाँ
-
EPS (प्रतिसेयर आम्दानी) : १२.०४ रुपैयाँ → बढेर १९.८० रुपैयाँ
-
नेटवर्थ प्रति शेयर : २३१.०२ रुपैयाँ
-
P/E अनुपात : ११.६७ गुणा
-
खराब कर्जा (NPL) : ५.८५% (अघिल्लो वर्ष ४.९१%)
-
निक्षेप : १७% वृद्धि, ४ खर्ब ७२ अर्ब रुपैयाँ (अघिल्लो वर्ष ४ खर्ब ३ अर्ब)
-
कर्जा लगानी : १८% वृद्धि, ३ खर्ब २६ अर्ब रुपैयाँ (अघिल्लो वर्ष ३ खर्ब ५ अर्ब)
-
CD Ratio : ७४.४४% (अघिल्लो वर्ष ७९.२२%)
-
चुक्ता पुँजी : ३४ अर्ब १२ करोड रुपैयाँ
-
जगेडा : ३२ अर्ब ७४ करोड रुपैयाँ
