महालक्ष्मी बैंकको करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा चार जना पूर्वकर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन्। महालक्ष्मी विकास बैंकले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार, अदालतबाट ७ दिनको म्याद थप गरी हाल अनुसन्धान भइरहेको छ।
प्रारम्भिक अनुसन्धानमा चारै जनाको मिलेमतोमा सो शाखाबाट रु २ करोड ८४ लाख ७६ हजार ७ सय रुपैयाँ अपचलन भएको खुलेको प्रहरीले जनाएको छ। घटना बाहिरिएपछि बैंकको केन्द्रीय कार्यालयबाट पठाइएको टोली गत बिहीबार गोकुलेश्वर पुगेको थियो।

बैंकले गरेको प्रारम्भिक अनुसन्धानमा, बैंकका कर्मचारीहरूले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म ‘वान एक्स बेट’ मा बैंकको रकम लगानी गरेको तथ्य फेला परेको छ। चारै जनाको मिलेमतोमा रकम अपचलन भएको प्रमाणित भएपछि बैंकले उनीहरूलाई निलम्बन गरेको छ।
