भारतद्वारा सिन्धुपाल्चोक जिल्लामा छ््योइफेल कुन्देलिङ गुम्बाको पुनर्निर्माण

समाचार

२०७६ वैशाख ६
भारतीय राजदूतावास काठमाडौंले सिन्धुपाल्चोक जिल्लाको लिसंखु गाउँमा छ््योइफेल कुन्देलिङ गुम्बाको पुनर्निर्माण गरेको छ । परम् पुजनीय गुरु स्याल्पा तेन्जिङ् रिम्पोछेले मिति २०७६ वैशाख ६ गते उक्त भवनको उद्घाटन गर्नुभयो । उक्त उद्घाटन समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारले विशेष अतिथिका रुपमा सहभागीता जनाउनुभयो ।
गुम्बा पुनर्निर्माणका अतिरिक्त नेरु. १ करोड ८९ लाख अनुदान सहयोगमा आवास, भान्छा, सरसफाई सुविधा तथा कम्पाउण्ड पर्खाल जस्ता थप संरचनाहरुको निर्माण भएको छ । वास्तुकला डिजाइन, नक्सा र लागत अनुमान तयार पारी एवम् गुम्बा निर्माणको सुपरिवेक्षण गरी जिल्ला समन्वय समिति चौताराले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।

लिसंखु गाउँवासीहरुको सक्रिय पहल तथा योगदानमा सन् १९४६ मा सो छ््योइफेल कुन्देलिङ गुम्बाको निर्माण भएको थियो । बौद्ध धर्म शिक्षा, थाङ्का चित्रकला, काष्ठकला तथा मूर्तिकला जस्ता विविध सामाजिक–साँस्कृतिक क्रियाकलापहरुमा गुम्बाको संलग्नता रहदै आएको छ । उक्त गुम्बा एक महत्वपूर्ण सम्पदा मात्र नभएर त्यहाँ अवस्थित मानिसहरुको सामाजिक–साँस्कृतिक जीवनको अभिन्न पाटो पनि हो ।