काठमाडौं – नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतप्राप्त निकायका लागि जारी एकीकृत परिपत्र–२०८१ संशोधन गरेको छ। परिपत्र संशोधनमार्फत केन्द्रीय बैंकले निर्यात–आयातसम्बन्धी केही महत्त्वपूर्ण प्रावधान परिमार्जन गरेको छ।
नयाँ प्रावधान अनुसार, निर्यात प्रयोजनका लागि प्राप्त रकममा अग्रिम भुक्तानी प्रमाणपत्र जारी गरी मात्र निर्यातकर्तालाई रकम भुक्तानी गर्नुपर्ने छ। तर, यो व्यवस्था लागू हुनुभन्दा अघि भित्रिएको निर्यात रकमका हकमा, यदि अग्रिम भुक्तानी प्रमाणपत्र जारी नभएको भए, २०८२ पुस मसान्तसम्ममा सो प्रमाणपत्र जारी गर्न सकिनेछ।
त्यसैगरी, सेवा आयातका हकमा प्रत्येक पटक अमेरिकी डलर १५ हजारभन्दा बढी (वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा) रकमको आयात गर्दा अब सम्बन्धित नियामक निकायको सिफारिस लिनुपर्नेछ। यसअघि यो सीमा १२ हजार डलर थियो।

साथै, सेवा आयातका लागि अमेरिकी डलर १५ हजारभन्दा बढी रकमको अग्रिम भुक्तानी गर्नुपर्ने अवस्थामा विदेशी बैंकको बैंक ग्यारेन्टी पनि अनिवार्य हुने व्यवस्था गरिएको छ।
