Machhapuchchhre Bank Reports 92% Profit Growth — नाफा, ब्याज आम्दानी र लाभांश क्षमतामा देखायो ग्रोथ

बैंक/वित्त

काठमाडौं । माछापुच्छ्रे बैंकले पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९२.४४ प्रतिशतले वृद्धि हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षमा बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा गर्ने प्रक्षेपण पहिल्यै गरेको थियो, जुन वास्तविकतासँग मेल खाएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ मा नाफा अझै बढेर २ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। यो चालु वर्षको तुलनामा करिब ४२ करोड रुपैयाँले बढी हो।

बैंकको कुल सञ्चालन आम्दानी गत वर्ष १६.५१ प्रतिशतले बढेर ७ अर्ब ४४ करोड ६ लाख पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी १५.४० प्रतिशतले वृद्धि भई ५ अर्ब ७५ करोड ६७ लाख पुगेको छ, जुन अघिल्लो वर्ष ४ अर्ब ९८ करोड ८१ लाख थियो।

सञ्चालन नाफा झनै उल्लेखनीय दरले, ९९.९१ प्रतिशतले वृद्धि भई ३ अर्ब ३३ करोड २ लाख पुगेको छ। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी पनि १८.१६ प्रतिशतले बढेर १ अर्ब २८ करोड ५१ लाख पुगेको छ।

निक्षेप र कर्जा परिचालन विस्तार

चालु आर्थिक वर्षमा बैंकले १ खर्ब ५ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गर्ने लक्ष्य राखेको छ। आगामी वर्ष यो लक्ष्य क्रमशः १ खर्ब २५ अर्ब र १ खर्ब १० अर्ब ७७ करोड रुपैयाँमा पुर्याउने योजना बैंकको छ।

सेयरधनीलाई लाभांश वितरणको सम्भावना

गत वर्षको नाफाबाट बैंकले १ अर्ब ३२ करोड रुपैयाँ सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने उल्लेख वित्तीय विवरणमा गरिएको छ।

बैंकले ऋणपत्र निष्कासनमार्फत लगानीयोग्य पुँजी संकलन गर्दै आफ्नो वित्तीय आधार बलियो बनाउने योजना पनि अघि सारेको छ।