काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिले कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत राखे पनि व्यवहारमा बैंकहरूले कर्जा विस्तारभन्दा तरलता राष्ट्र बैंकमै राखेर सुरक्षित आम्दानी गर्न खोजिरहेको संकेत देखिएको छ। राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण माग्दा बैंकहरूले ९० अर्ब ७० करोड रुपैयाँ राख्न इच्छा देखाएका छन्।
बैंकहरूले कर्जा विस्तारभन्दा असुलीलाई प्राथमिकतामा राख्न थालेपछि राष्ट्र बैंकले गत महिना यता नियमित रूपमा लामो अवधिका निक्षेप संकलन उपकरण जारी गर्न थालेको हो। सामान्यतः १४ वा २१ दिनको उपकरण जारी गर्ने गरेकोमा अहिले ४२ दिने उपकरणलाई प्राथमिकता दिइएको छ। चालु आर्थिक वर्ष सुरु भएदेखि राष्ट्र बैंकले तीनपटक ४२ दिने, एकपटक २८ दिने र एकपटक ५६ दिने उपकरणमार्फत तरलता प्रशोचन गरिसकेको छ।
पाँच पटकमा २.२७ खर्ब तरलता खिचियो
साउन १८ गते आइतबारसम्म मात्रै राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो १८ दिनमा पाँच पटकमा गरी २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरिसकेको छ। साउन ४ मा ५० अर्ब, साउन ७ मा ७८ अर्ब २५ करोड, साउन ११ मा ४१ अर्ब १० करोड, साउन १४ मा ७ अर्ब ६५ करोड र साउन १८ मा थप ५० अर्ब खिचिएको हो।

त्यस्तै आइतबार, बैंकहरूले स्थायी निक्षेप सुविधा (SDF) मा पनि २ खर्ब २० अर्ब ८५ करोड ३ दिनका लागि राखेका छन्। एकै दिन निक्षेप संकलन उपकरण र SDF मार्फत गरी २ खर्ब ७० अर्ब ८५ करोड रुपैयाँ राष्ट्र बैंकमा जम्मा गरिएको छ।
बढी ब्याज पाइने हुँदा बैंकहरूको आकर्षण
राष्ट्र बैंकले निर्धारित २.७३ प्रतिशत औसत ब्याजदरमा आइतबार ५० अर्ब मात्र निक्षेप संकलन गरेको हो। SDF मा पनि बैंकहरूलाई २.७५ प्रतिशत ब्याज पाइन्छ, जसले गर्दा बैंकहरू अल्पकालीन तरलता व्यवस्थापन उपकरणप्रति आकर्षित छन्। कर्जा प्रवाहमा ढिलाइ भईरहेका बेला बैंकहरूलाई यिनै उपकरणबाट न्यून जोखिममा केही आम्दानी हुने देखिएको छ।
खर्च घटाउन प्रयास, तर निक्षेप अझै बढ्दै
राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत अनिवार्य तरलता अनुपात ७० प्रतिशतबाट बढाएर ९० प्रतिशत पुर्याए पनि बैंकहरूले राष्ट्र बैंकमा राख्ने निक्षेप भने घटेका छैनन्। बैंकहरूले अनिवार्यभन्दा बढी तरलता राखिरहेका छन्, जसले राष्ट्र बैंकको ब्याज खर्च बढाउने जोखिम छ।
एसडिएफ प्रयोगमा २१ खर्ब ५२ अर्ब
चालु आर्थिक वर्ष सुरु भएदेखि आइतबारसम्म बैंकहरूले ८ पटकमा गरी २१ खर्ब ५२ अर्ब ३० करोड बराबरको SDF सुविधा लिएका छन्। यद्यपि पछिल्लो चरणमा बैंकहरूले ३ दिने SDF भन्दा ४२ दिने निक्षेप संकलन उपकरणमा बढी प्राथमिकता देखाएका छन्, जसले बैंकहरू तत्काल कर्जा विस्तार हुनेमा अझै विश्वस्त छैनन् भन्ने देखाउँछ।
७ खर्ब ५३ अर्ब लगानीयोग्य रकम
राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा कुल ७० खर्ब १९ अर्ब रुपैयाँ निक्षेप छ भने ५५ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी भइसकेको छ। सीडी रेसियो हाल ७६.०३ प्रतिशत रहेको छ, जसअनुसार करिब ७ खर्ब ५३ अर्ब रुपैयाँ लगानीयोग्य रकम बैंकहरूसँग उपलब्ध छ।
कर्जाको माग सुस्त, तरलता झन् बढ्दो
रेमिट्यान्स आप्रवाहमा सुधारसँगै निक्षेप बढे पनि आन्तरिक अर्थतन्त्रको मन्दीका कारण कर्जाको मागमा अपेक्षित वृद्धि हुन सकेको छैन। यही कारण वित्तीय प्रणालीमा तरलता प्रशस्त देखिएको हो।
