Prosperity via Load Shedding: पूर्वी चितवनमा आजदेखि दैनिक ६ घण्टा विद्युत् कटौती

समाचार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चितवनका केही क्षेत्रमा आज (आईतबार)देखि दैनिक ६ घण्टा लोडसेडिङ हुने तालिका सार्वजनिक गरेको छ। विशेषगरी पूर्वी चितवनका नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर क्षेत्रमा पर्ने वितरण फिडरहरूमा यो व्यवस्था लागू गरिएको हो।

प्राधिकरणका अनुसार, अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ प्रयोजनका लागि विद्युत् माग अत्यधिक बढेको छ। सोही कारण वितरण प्रणालीमा लोड थपिएको र तारको प्रवाह क्षमताले धान्न नसक्ने भएपछि लोडसेडिङ गर्नुपरेको जनाइएको छ।

चनौली वितरण केन्द्रका अनुसार भरतपुरस्थित १३२/३३ केभी सब स्टेशनबाट सञ्चालित ३३ केभी डग कन्डक्टर तारमा अधिकतम ३०० एम्पिएरसम्मको लोड सहन सक्ने क्षमता भए पनि हाल ४५० एम्पिएरसम्म प्रवाह हुँदा प्रणाली असहज बनेको हो।

यस समस्याको दीर्घकालीन समाधानका लागि बसेनी सब स्टेशनबाट वैकल्पिक ३३ केभी प्रसारण लाइन निर्माणको काम अघिल्लो आर्थिक वर्षदेखि जारी रहेको पनि प्राधिकरणले जानकारी दिएको छ।

लोडसेडिङ तालिका यसप्रकार छ:

  1. नारायणी–माडी फिडर : बिहान ६:०० – ९:०० र दिउँसो ३:०० – ६:००

  2. मेघौली–विजयनगर–शुक्रनगर फिडर : बिहान ९:०० – १२:०० र साँझ ६:०० – ९:००

  3. जगतपुर–रामपुर फिडर : दिउँसो १२:०० – ३:०० र राति ९:०० – १२:००

प्राधिकरणले उपभोक्ताहरूलाई लोडसेडिङको समयमा वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ।